इँट्टाभट्टाका हेडमिस्त्रीले स्वीकारे अपराध- ‘आलमकै निर्देशनमा इँट्टाभट्टाको भुँग्रोमा हालेर जलाएकाे हुँ’

काठमाडाैं । रौतहटको इटाभट्टामा जिउँदै मान्छे जलाइएकाे घटनामा संलग्न भएकाे अभियाेगमा एक जना पक्राउ परेका छन् ।

नेपाली कांग्रेसका नेता अफ्ताब आलमले डेढ दर्जनलाई जिउँदै जलाएको भनिएको इँट्टाभट्टाका हेडमिस्त्री बारा सिम्रौनगढ नगरपालिका-४ का ५५ वर्षीय बद्री सहनी शुक्रबार साँझ पक्राउ परेका हुन् । उनलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले भारतको मुजफ्रपुरबाट नियन्त्रणमा लिएकाे हाे ।

भारतीय स्पेशल टास्क फोर्सको सहयोगमा उनलाई शुक्रबार साँझ पक्राउ गरेर नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

२०६४ चैत २८ मा संविधानसभा चुनावमा धाँधली गर्ने उद्देश्यले आलमले तत्कालीन राजपुर फरहदवा गाविस-४ का शेख इद्रिसको गोठघरमा बम बनाउन लगाएको र त्यसक्रममा विस्फोट भएको थियो । आलमको निर्देशनमा २०६४ सालमा त्रिलोकप्रताप राजपुतसमेतलाई इँटाभट्टामा जिउँदै जलाइएको थियो ।

घटनामा १५/१६ जना घाइते भएको र २/३ जनाको मृत्यु भएको थियो । घटनापछि मृतक र घाइतेलाई इँट्टाभट्टामा हालेर जलाएको भन्दै श्रीनारायण राजपुतले दिएको जाहेरीका आधारमा २६ असोज २०७६ मा कांग्रेस नेता आलम पक्राउ परेका थिए । उनी हाल पुर्पक्षका लागि थुनामा छन् । आलम पक्राउ परेकाे एक वर्षपछि हेडमित्री सहनीले पक्राउ परेका हुन् ।

उनले आलमको निर्देशनमा बम बिष्फोटका क्रममा मृत्यु भएका र घाइते भएकाहरुलाई इँट्टाभट्टाको भुँग्रोमा हालेर जलाएकाे स्वीकारेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया