मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बाल्यकालको त्यो चिट्ठी

घरअगाडि ठूलो चौडा भएको धुलौटो बाटो । उत्तरतिर फर्केको ठूलो तीन तले घर । साँगुरी भन्ज्याङको चिसो हावा सिधै घरको आँगनमा ठोक्किन्थ्यो । विजयपुर डाँडा विजयको पंखा फिजाउँदै धरान बजारलाई हम्किरहेको झैँ लाग्दथ्यो ।

ऐतिहासिक महत्व बोकेको विजयपुर डाँडा दन्तकाली मन्दिर, पिन्डेश्वरबाबा मन्दिर, बूढासुब्बा मन्दिर र पञ्चकन्या मन्दिरलाई धरानको शिरमा राखेर सुशोभित थियो । यही डाँडाले सर्दु र सेउती दुई खोलालाई धरान बजारलाई साक्षी राखेर कहिल्यै भेट नहुने गरी दुईतिर छुट्याएकाे थियो ।

म बालखैदेखि कलामा रमाउँथे । फूलहरूको सौन्दर्यमा हराउँथेँ । प्रकृतिको अनुपम उपहारको रहस्यमा डुबिरहन्थेँ । मेरो यो रुची भित्री हृदयबाट स्वतस्फूर्त रूपले उम्रेको जंगली च्याउजस्तै थियो । यसमा न त कसैको दबाब थियो न त कसैको प्रभाव । घरको वातावरणबाट प्रेरित भएको भन्ने हो भने यो शतप्रतिशत गलत थियो ।

कसैको प्रेरणादायी व्यक्तित्वबाट भएको भन्ने हो भने कुनै प्रमाण थिएन । जे थियो आफ्नै अन्तरआत्मादेखि प्रस्फुटन भएको थियो । गाउँमा कसले राम्रो हाते रुमाल वा टेबलपोस बुनेको देख्नै नहुने । देखेकी त्यसलाई बाजलेझैँ झम्टेर त्यो कलालाई आफ्नो कलामा उतारी हाल्दथेँ । आमाले दुनाटपरा बुनेको देख्नै नहुने । आमाले बाती काटेको, सेलरोटी पोलेको, अनारस पकाएको देख्नै नहुने । मेरो अगाडि कसैले केही गर्नै नहुने । एकप्रकारले आतंककारी शैलीमा त्यस कलालाई अपहरण गरेर म ठीक त्यही कलामा उतारी दिइहाल्थेँ । यस्ता कुरामा हातले बुनेका घरको सजावटका कुरादेखि खानेकुरा पकाउने तरीका र बुनेका स्वीटरहरू पर्दथे ।

मैले जे कुराको नि सिको गरिहाल्ने र त्यसलाई हुबहु उतार्ने कला देखेर सबैजना छक्क पर्थे । आमा भन्नुहुन्थ्यो, ‘जे कुरा नि टिपीहाल्छस् । साहै दुखिया हुने भइस् ।’

साँच्चै, मैले कलालाई होइन दुःखलाई उतारेकी रहिछु । त्यही दुःखलाई बोकेर हिँडनुपर्ने मेरो जीवनको नियति रहेछ । यही दुःख नै मेरो जीवनको अति आनन्द दिने रहस्य बन्यो, प्रकृृतिको रहस्यजस्तै । त्यही दुःखमा म कला रोप्छु अनि खुशी उमार्छु । ती उम्रेका खुशीलाई म सोध्ने गर्छु, ‘मान्छेलाई जीवनमा चाहिने कुरा के हो ?’

ऊ मलाई भन्छ, ‘आनन्द !’

आनन्द ! आनन्द ! आनन्द ! कति प्रिय लाग्छ यो शब्द । कति शीतल महसुस हुन्छ यो शब्दमा । साँच्चै हामी सबैले खोज्ने भनेको आनन्द नै रहेछ । हामीलाई थाहा छ गर्भवती हुन र सन्तान जन्माउन कति कठीन छ भनेर तर हामी सन्तान प्राप्तिको आनन्दमा सारा दुःख बिर्सन्छौँ । अनि दुःखलाई खोजीखोजी ल्याएर आफ्नो जीवनमा कला बनाएर रोप्छौँ, खुशी उमार्न । साँच्चै त्यो खुशीको कुनै सीमा नै हुँदैन । त्यसैले हामी जति धेरै दुःख रोप्न सक्छौँ त्यति नै धेरै आनन्द उर्मान सक्दा रहेछौँ ।

अरूको दुःखलाई कलामा उतार्ने र खुशी उमार्ने मेरो बाल्यकालीन कला यहाँ वयस्क बनेर फुलेको छ । त्यो अरूको दुःख आफ्नो कलामा उतारेर उमारेको आनन्द आज मेरो सस्मरणरूपी क्यानभासमा उतार्न गइरहेकी छु ।

यो कुरा धेरै अघिको हो । बाल्यकालीन त्यो कला मैले मेरो जीवनको क्यानभासममा कसरी उतारेकी थिएँ भनेर स्पष्ट सम्झना त छैन तर यो कुरालाई मेरी आमाको मुखबाट सुनेपछि मलाई निकै आनन्द लाग्यो । त्यो बेला एउटी दुःखी आमाको वेदना वा दुःखलाई मैले आफूमा नक्कल गरेर त्यसलाई कलामा यसरी उतारेकी रहिछु ।

म त्यो बेला त्यस्तै आठ वा नौ कक्षामा पढ्दै थिए । हाम्रो घरको अलिक तल बाँझगरामा भन्ने ठाउँ थियो । त्यहाँ एकजना बाहुनी दिदी भन्ने महिला बस्नुहुन्थ्यो । मेरो बुवाले उहाँलाई दिदी मान्नुभएको थियो । उहाँ त्यस्तै चालीस वा पैतालीस बर्षको हुनुहुन्थ्यो । उहाँको एकजना छोरा हुनुहुन्थ्यो । छोराको विवाह भैसकेको थियो । छोराले आफ्नो श्रीमती आमासँगै छोडेर सरकारी जागीरमा पूर्वीपहाड जानुभएको रहेछ । एकदिन बाहुनी दिदी दिउँसोको समय हाम्रो घरमा आउनुभयो ।

त्यो बेला संयोगले मेरो बुवा पनि घरमा नै हुनुहुन्थ्यो । उहाँको घरमा बुहारीसँग खटपट परेको रहेछ । छोरा घरदेखि धेरै टाढा कसलाई यो कुरा भन्ने भनेर उहाँ मेरो बुवाआमासँग मनको पीर पोख्न आउनुभएको रहेछ । उहाँले रुँदै आफूलाई झाडापखाला हुँदा बुहारीले पानीसम्म पिउन नदिएको बेथा सुनाउनुभयो । हामी सबैले यो सुनिरह्यौँ । गर्भमा हुँदा नै श्रीमान बितेको अनि छोरालाई अनेकौ दुःख र हन्डर खाइ हुर्काउनुभएको थियो । अहिले छोरा हाकिम भएर सरकारी जागिर खाने भइसकेको थियो । तर बुहारीले आफूप्रति गरेको व्यवहारले उहाँ अत्यन्तै पीडित हुनुहुन्थ्यो ।

उहाँले भन्नुभयो, ‘भाइ कसरी मेरो छोरा सामु यो कुरा पुर्याउनु ? आफूलाई लेख्न पढ्न पनि आउँदैन । जसरी हुन्छ मेरो छोरालार्ई डाकी देऊ ।’ त्यो बेला अहिलेकोजस्तो फोन, मोबाइल थिएन । चिट्ठीपत्र पठाउने चलन थियो । अत्यन्त अर्जेन्ट हुँदा थोरै शब्दमा तार पठाउने चलन थियो । घरमा लेखपढ गर्ने दाजुहरू कोही हुनुहुन्थेन ।

आमाले भन्नुभयो, ‘यो शर्मिला छे यसले लेखिदिन्छे नि बाहुनीदिदीको छोरालाई चिट्ठी ।’ बुवाले भन्नुभयो, ‘लौ लेख्लेख् छोरी चिठी, अहिले बाहुनीदिदीले भनेका कुरा त सुनिस् होला नि । यस्तोयस्तो हालखवर छ छिटै आउनु भन्नु ल लेखिहाल् ।’

बुवाले यति भन्नुभएपछि म कलम लिएर लेख्न बसेँ । कस्तो लेखेँ, के लेखेँ, थाहा भएन । तर सबै कुरा सन्दर्भ मिलाएर लेखेँ जस्तो लाग्छ । लेखिसकेपछि मैले पढेर सुनाउनु पर्दथ्यो । अनि पढेर पनि सुनाएँ । त्यतिखेर केटाकेटी नै थिएँ । सबै कुरा त मैले ख्याल गरिनँ । मैले यो कुरा बिर्सिसकेको रहेछु ।

धेरै समयपछि भनौँ, म तरुनी भएपछि आमाले भन्नुभयो, ‘यसले त्यो बाहुनी दिदीको छोरालाई लेखेको चिट्ठी पढ्दा बाहुनी दिदी थोरै रुनु भएन । कस्तो भाका पुर्याएर लेखेकी ! त्यो चिठी पुग्नेबित्तिकै छोरा आमालाई लिन आइपुग्यो रे । कस्तो आमालाई काँध हालेर रोयो रे । कसरी लेखेकी थिइस् ?” लेख्न त केके लेखेँ मलाई नि थाहा थिएन ।

मैले अरूको दुःखलाई आफूभित्र कसरी कला बनाएर उमार्न सक्ने रहेछु । साँच्चै मैले ती विधवा आमाको वेदनालाई यति सानै उमेरमा कसरी कलामा उतारेर खुशी उमार्न सकेँ अहिले मलाई अचम्म लाग्छ । त्यो कलाले त्यो बेला कति आनन्द दियाे होला ती दुःखी आमालाई । मेरो कलाले ती आमालाई न्याय दिन सकेकोमा म पनि कति आनन्दित भए हुलाँ त्यो बेला ।

म अहिले पनि आनन्दित हुने गर्छु त्यो कुराले । त्यो कला मेरो जीवनमा बीज बनेर गाडियो अनि साहित्यिक वृक्ष बनेर हुर्कदैँ गयो । मलाई अहिले यस्तै लाग्छ र आफैँभित्र आनन्दमा हराउन मन लाग्छ – सारा दुःखका कला आफूभित्र उमारेर !

प्रतिकृयाहरु
Loading...