आज बोलाइएको नेकपा सचिवालय बैठक आइतबारलाई सर्यो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबारका लागि सरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको एक्लौटी निर्णयबाट केही नियुक्तिहरु भएको आरोपपछि पार्टीमा छलफल गर्न भन्दै सचिवालय बैठक आज (शनिबार) ४ बजेका लागि बोलाइएको थियो । सचिवालय बैठकका एजेण्डाको विषयमा थप गृहकार्य गर्नुपर्ने भएपछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा बैठक सरेकाे हो ।

यसअघि बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा शंकरदास बैगरी, अमेरिकाका लागि डा. युवराज खतिवडा र बेलायतका लागि लोकदर्शन रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त निर्णयको नेकपाभित्रै विरोध भइरहेको छ ।

यसअघिको सचिवालय बैठकले नै सरकारले चाल्ने कुनै पनि कदममा पार्टीको सहमति अनिवार्य हुनुपर्ने निर्णय गरेको थियो । तर माथिका सिफारिस प्रधानमन्त्रीकाे एकलाैटी निर्णय भएकाे भन्दै नेकपाभित्रै प्रम ओलीको आलोचना भएको थियो ।

यसैबीच मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बाेलाउने निर्णय भएकाे थियाे । शुक्रबार ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि शनिबार ४ बजे बैैठक बोलाउने सहमति हाे । तर दुई अध्यक्षबीच कुरा नमिलेपछि बैठक आइतबार अपरान्ह ४ बजेका लागि सारिएकाे हाे ।

प्रतिक्रिया