‘बार्सिलोनाका खेलाडीहरु भोकाएको देखेको छु’ कोइम्यान

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइम्यानले आफू नेतृत्वको क्लब उत्कृष्ट भएको स्पष्ट पारेका छन् । बिहीबार राति सेल्टा भिगोविरुद्धको खेलमा स्पष्ट जित हात पारेपछि पत्रकारसँग कुरा गर्दै कोइम्यानले यस्तो बताएका हुन् ।

बिहिबार राती ला लिगामा बार्सिलोनाले आफ्नो दोस्रो जित निकालेको थियो । सेल्टाको मैदानमा भएको खेलमा बार्सिलोनालाई ३–० गोलले जिताउन अन्सु फाती र सर्जि रोबर्टोले समान एक–एक गोल गरे ।

यस्तै बार्सिलोनाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । सेल्टाका लुकास ओलिजाले आत्मघाती गोल गरेका थिए ।
‘हामीले महान् काम गरेका छौं, म धेरै नै गर्व गर्छु । हामीले अनुशासित भएर काम गरेका छौं । म खुशी छु,’ खेलपछिको पत्रकार सम्मेलनमा उनले भने ।

बार्सिलोनाका खेलाडीहरू शारीरिक रूपमा बलियो भइसकेको कोइम्यानको भनाई छ । ‘यहाँ आएको पहिलो दिनदेखि मैले खेलाडीहरूलाई भोकाएको देखिरहेको छु । उनीहरू लगनशील भएर प्रशिक्षण गर्छन् । शारीरिक रूपमा हामी बलियो भइसकेका छौं ।’

उनले बार्सिलोना सोचे भन्दा उत्कृष्ट टीम रहेको पनि बताए । ‘अरु प्रशिक्षक जस्तै मलाई पनि समय चाहिन्छ । तर, बार्सिलोना तपाईंले सोचेको भन्दा उत्कृष्ट छ । दुई खेलमा ६ अंक र सात गोल । यसै तथ्यांकले सावित गर्छ कि हामी अगाडि बढिरहेका छौं’, उनले भने ।

दुई खेलबाट ६ अंक जोडेको बार्सिलोना पाँचौं स्थानमा उक्लिएको छ । यसअघि बार्सिलोनाले पहिलो खेलमा भिल्लारियलमाथि ४–० गोल अन्तरको जित दर्ता गरेको थियो । नयाँ प्रशिक्षक कोइम्यान लालिगाका दुई खेलमा स्पष्ट जित हासिल गरेपछि खेलाडी प्रति सन्तुष्ट देखिएका छन् ।

प्रतिक्रिया