रावणले सीतालाई अपहरण गरे पनि किन छुन सकेन ?

रामायण अध्ययन गरेका धेरैलाई थाहा भएकै कुरा, रावणले छलपूर्बक सीताको अपहरण गरी लंकास्थित अशोक वाटिकामा राखेको थियो। दरबारबाट हरेक दिन उ त्यहाँ आउँथ्यो र सीतालाई आफ्नी पटरानी बन्नको निम्ति ललाई फकाई गरिरहन्थ्यो।

रावणले सीता उपर बल प्रयोग गरेन, उनीलाई यौनका आशयले छोएन भन्दै मानिसहरू रावणलाई त्यसको श्रेय दिने गर्छन्। तर धेरैलाई थाहा नहुन सक्छ, कुनै स्त्रीलाई उसको सहमति बेगर छोयो भने टाउको फुटेर तत्क्षण मर्ने श्रापबाट रावण ग्रसित थियो।

अप्सराहरुकी रानी रम्भाको विवाह कुबेरपुत्र नलकुवारासँग भएको थियो। कुबेर रावणको सौतेनी दाजु हो। प्रारम्भमा कुबेर नै लंकाको शासक थियो तर रावणले सत्ता कब्जा गरेर कुबेरलाई लंकाबाट लखेटेको थियो।

एकदिन कतै जाँदा वनमा रावणले त्यही अप्रतिम सुन्दरी रम्भालाई देख्यो। उसलाई देखेर रावण निकै मोहित भयो र नजिकै गएर भन्यो, ‘हे सुन्दरी तिमी को हौ ?’

‘मेरो नाउँ रम्भा हो। म कुबेरका छोरा नलकुवाराकी पत्नी हुँ।’ उसले भनी।

‘त्यस कुबेरको नाउँ नलिउ। उसँगको नाता तोडिसकेको छु मैले। तिमीलाई देखेर म कामातुर भइरहेको छु। आउ मेरो बाहुपाशमा !’ रावणले प्रणय निवेदन गर्‍यो।

रम्भाले झोक्किंदै भनी, ‘छिस् कस्तो कुरा गर्नुभएको ? आफ्नै भतीजाकी पत्नीसँग संसर्ग गर्ने यस्तो घृणित सोच कसरी राख्नुभयो ?’

कामान्ध रावणले केही सुनेन। उसले रम्भालाई जबर्जस्ती आफ्नो बलिष्ठ भुजामा जकड्यो। रम्भाको दयनीय क्रन्दनले रावणको मन पग्लेन। उसले रम्भालाई बलात्कार गरिछाड्यो र आफ्नो बाटो लाग्यो।

केही बेरपछि नलकुवाराले त्यस ठाउँमा आफ्नी पत्नीलाई अर्धचेत अवस्थामा भेट्यो। उसको लुगा च्यात्तिएको थियो भने शरीर दरफरिएको अवस्थामा थियो। रम्भाले आफू रावणबाट बलात्कृत भएको कुरा पतिलाई रुँदै भनी।

यो थाहा पाएपछि नलकुवारा क्रोधले काँप्दै रावण कहाँ पुग्यो। उसले रावणलाई गाली गर्दै भन्यो, ‘धिक्कार होस् ! आफ्नै भतिजाबुहारीलाई बलात्कार गर्ने पापी ! यस्तो कुकर्म किन गरेको ?’

तर रावणले माफी माग्नु वा पश्चात्ताप गर्नु त कता हो कता उल्टै निर्लज्जतापूर्बक भन्यो, ‘के भयो त ? नाच्ने गाउने, पुरुषको मन बहलाउने जातकी उ एउटी अप्सरा त हो। सबैको मनोरञ्जन गराउने एउटी यौनकी खेलौनासँग खेलें त मैले के बिराएँ ?’

यस्तो सुनेपछि नलकुवारा रीसले आगो भयो। उसले भन्यो, ‘आज तिमीले आफ्नै छोरी समानकी भतीजाबुहारीलाई निर्ममतापूर्बक बलात्कार गर्‍यौ। यसको सजायस्वरुप म तिमीलाई श्राप दिन्छु। यदि तिमीले कुनै स्त्रीलाई उसको सहमति बेगर स्पर्श गर्‍यौ भने तत्काल टाउको फुटेर तिम्रो मृत्यु हुनेछ।’

यसरी श्रापित भएको कारणले गर्दा रावणले सीतालाई स्पर्श नगरेको हो भन्ने कुरा थोरैलाई मात्र थाहा छ।

प्रतिक्रिया