संसदको विशेष अधिवेशन आह्वान गर्न कांग्रेसलाई ८ सांसद अपुुग, अन्य दलसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदको विशेष अधिवेशन आह्वान गर्ने भनी मच्चिरहेको छ । तर, संवैधानिक व्यवस्थाअनुसार उसलाई ८ सांसद अपुुग हुन्छ ।

गत बुधबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार संसदको विशेष अधिवेशन आह्वान गर्नको लागि कांग्रेसलाई ८ सांसद नपुुगेको हो ।

संविधानमा व्यवस्था भएअनुसार विशेष अधिवेशन माग गर्नका लागि संसदको एकचौथाइ सदस्यहरुले राष्ट्रपतिलाई लिखित अनुरोध गर्न सक्नेछन् ।

यद्यपि कांग्रेसलाई संसदको विशेष अधिवेशन आह्वानको लागि ८ सांसद अपुुग हुने भएपछि जनता समाजवादी पार्टी नेपाललगायतको साथ माग्ने मनस्थिति कांग्रेसले बनाएको छ ।

नेपालको संविधानको धारा ९३ (३)मा विशेष अधिवेशनमा माग गर्न सक्ने व्यवस्था उल्लेख छ । ‘राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन चालूू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ,’ धारामा भनिएको छ ।

आउँदो १९ असोजमा कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ । जहाँ, सभापति शेरबहादुर देउवाले नै संसदको विशेष अधिवेशनसम्बन्धी प्रस्ताव पेश गर्ने बताइएको छ ।

व्यवस्थाअनुसार विशेष अधिवेशन बोलाउन माग गर्नका लागि प्रतिनिधि सभामा ६९ जना सांसद चाहिन्छ । अहिले कांग्रेससँग ६३ सांसद मात्रै छन् । अफताब आलम र विजयकुमार गच्छदारको निलम्बनपछि कांग्रेस ६३ सांसदमा सीमित छ ।

यसपछि कांग्रेसले संसदको विशेष अधिवेशन आह्वान गर्नका लागि संसदमा प्रतिनिधित्व गर्ने अन्य दलसँग छलफलको तयारी अघि सारेको छ ।

आम नागरिकको जीवन रक्षाको लागि विशेष अधिवेशन बोलाएर त्यसमा छलफल गर्ने र सरकारले कमीकमजोरीलाई जवाफदेही बनाएर जनताको जीवन रक्षाका लागि उत्तरदायी बनाउन प्रयास गर्ने कांग्रेस नेता बालकृष्ण खाँडले बताए ।

यस्तै उनले यसका लागि सदनमा प्रतिनिधित्व गर्ने अन्य दलसँग छलफल हुने पनि उनले बताए । उनले भने, ‘यस विषयमा हामीले संसदमा प्रतिनिधित्व गर्ने अन्य दलसँग छलफल गर्नेछौं ।’

प्रतिक्रिया