भारतीय काँग्रेस नेता राहुल गान्धी र नेतृ प्रियंका गान्धी प्रहरी हिरासतमा 

काठमाडौँ । भारतीय काँग्रेस नेता राहुल गान्धी र नेतृ प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । बलात्कारको शिकार भएकी युवतीको परिवारलाई भेट्न दिल्लीबाट हाथरस जाने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रहरीले उनीहरूलाई निर्देशन अवज्ञा गरेको आरोपमा यमुना एक्सप्रेसबाट पक्राउ गरेको हो । गत सेप्टेम्बर १४ मा भारतको हाथरस भन्ने ठाउँमा १९ वर्षीया एक दलित परिवारकी किशोरीमाथि सामूहिक बलात्कार भएको थियो ।

बलात्कारपछि  गम्भीर अवस्थामा खेतमा फेला परेकी ती किशोरीको उपचारका क्रममा दिल्लीको एक अस्पतालमा मङ्गलवार मृत्यु भएको थियो ।

बलात्कारको आरोपमा सोही गाउँका उच्च जातका ४ जना युवा पक्राउ परेका थिए ।

यस्तो थियो घटना :
अस्पतालमै मृत्यु भएकी ती युवतीको शव प्रहरीले उत्तर प्रदेशस्थित उनको घर पुर्‍याएको  थियो । परिवारलाई तत्कालै शव जलाउन पनि आग्रह गरिएको थियो । तर परिवारले शव जलाउन नमानेपछि  प्रहरीले नै शव जलाएको पीडितको आरोप छ । यद्यपि प्रहरीले भने परिवारको अनुमतिमा नै शव जलाएको दाबी गरेको छ । परिवारका सदस्यहरूले भने आफूहरूले अनुमति नदिएको बताउँदै आएका छन् ।

अधिकारवादीहरुले प्रहरीको उक्त कार्य संवेदनहीन भएको बताएका छन् । यस घटनाबारे प्रहरी उदासिन देखिएको पीडितको आरोप छ । भारतका प्रतिपक्षी नेताहरूले पनि प्रहरीको यस किसिमको कार्यको निन्दा गरेका छन् । भारतीय काँग्रेसले पनि यो घटनामा प्रहरीको आलोचना गर्दै आएको छ ।

राहुल गान्धीले हाथरस पुगेर पीडित परिवारलाई भेट्ने कार्यक्रम बनाएका थिए । यसै क्रममा उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । एएनआई

प्रतिक्रिया