साझा ज्येष्ठ नागरिक संगठनको १५ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा

काठमाडाैं । साझा पार्टीले आज ‘अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ को अवसर पारेर साझा ज्येष्ठ नागरिक संगठनको १५ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा गरेको छ ।

नेपालका ज्येष्ठ नागरिकहरूको हक, हित, स्वास्थ्य र सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त तदर्थ समिति गठन गरिएकाे पार्टीका सहप्रवक्ता शरदराज पाठकले जानकारी दिए । उनका अनुसार तदर्थ समितिको संयोजकमा हाल महेन श्रेष्ठ रहेका छन् भने महासचिव चक्र न्यौपाने छन् ।

साझा ज्येष्ठ नागरिक संगठन केन्द्रीय तदर्थ समितिका सदस्यहरूमा महेन श्रेष्ठ,  कृष्णा ताम्राकार, प्रा. डा जगन्नाथ श्रेष्ठ, विनय शर्मा, चक्र न्यौपाने, कीर्ति तुलाधार, विकल शेरचन, जगदिश्वर यादव, टिकाप्रसाद विमली, डा. बोधप्रसाद पराजुली, घनबहादुर शाह, केवलमान श्रेष्ठ,  बलराम सापकोटा, देविदत्त ज्ञवाली र तारा ढुङ्गाना रहेका छन् ।

सहप्रवक्ता पाठकले नेपालमा ज्येष्ठ नागरिकले ७० वर्षकाे उमेरपछि उपचार खर्चसहित मासिक तीन हजार भत्ताबाहेक राज्यबाट अरू केही सेवासुविधा नपाएकाे भन्दै एउटा जिम्मेवार राजनीतिक दलका रूपमा साझा पार्टी ज्येष्ठ नागरिकहरूको बदलिँदो अवस्थाका बारेमा अत्यन्त संवेदनशील रहेकाे बताए ।

पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या २० लाखभन्दा बढी रहेको अनुमान गरिन्छ। सो संख्या हरेक वर्ष बढेर जाने विज्ञहरू बताउँछन् । तर नेपालमा ज्येष्ठ नागरिकहरूले ७० वर्षको उमेरपछि उपचार खर्च सहित मासिक रू तीन हजारको भत्ताबाहेक राज्यबाट उल्लेख्य सहयोग पाउँदैनन् ।’

अर्कोतर्फ वैदेशिक तथा आन्तरिक रोजगारी, परम्परागत पारिवारिक संरचनामा आएको क्रमिक परिवर्तन र समाजको बदलिँदो चरित्रले गर्दा ज्येष्ठ नागरिकहरू बढ्दो रूपमा एक्लिँदै गएको साझाकाे तर्क छ ।

साथै, साझा ज्येष्ठ नागरिक संगठन आम ज्येष्ठ नागरिकहरू लगायत देशको विभिन्न पेशा, व्यावसाय तथा समाजमा अनुभव, दक्षता, विज्ञता र प्रतिष्ठा कमाएकाहरूको पनि साझा मञ्च हुने साझा पार्टीकाे विश्वास छ । ‘उनीहरूले संगालेका ती अतुलनीय ज्ञान साझा पार्टीलाई विविध क्षेत्रमा दिशानिर्देश गर्न महत्वपूर्ण हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। ज्येष्ठ नागरिक समाजका बोझ होइनन्, अमूल्य सम्पत्ति हुन्’, विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघले सन् १९९० मा अक्टोबर एक तारिखलाई ज्येष्ठ नागरिक दिवस घोषणा गरेको थियो ।

प्रतिक्रिया