सम्झँदै घतलाग्दा सम्झनाहरु…

काठमाडौं । गत ७ असोजमा बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीया सम्झना कामी गाईवस्तु बाँधेर घरतिर फर्किँदै थिइन् । तर, अफसोच उनी घरसम्म आइपुग्न सकिनन् । उनको बलात्कारपछि हत्या भएको पछि पुष्टि भयो । सोही गाउँपालिकाकै १८ वर्षीय राजेन्द्र बोहोरोलाई दोषीका रुपमा प्रहरीले सार्वजनिक गर्यो । जिल्ला प्रशासन कार्यालय, बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार बोहोराले दोष आफ्नै हो भनी स्वीकारेका छन् ।

दोषी बोहोरोले प्रहरी बयानका क्रममा थुप्रै कुराहरु भनेका थिए । उनले बलात्कार गरेपछि ढुङ्गा र त्रिशूलले हानेर मारेको बताएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले बताए ।

‘पहिले बलात्कार गरेँ अनि ढुङ्गा, त्रिशूललगायतका वस्तुले हानेर मारेँ,’ दोषी बोहोराको भनाइलाई उदृत गर्दै ती अधिकारीले भने, ‘मैले गल्ती गरेकै हो,’

‘सम्झनालाई मन पराउँथेँ’
दोषी बोहोराले सम्झनालाई आफूले मन पराउने गरेकोसमेत बताएका थिए । सम्झनाका बाबुआमा भारतमा बस्दै आएका थिए ।

सम्झनाले दुई वर्षका लागि भारत गएर बस्छु भनेको कुरा आफूलाई मन नपरेपछि त्यस्तो गर्नुपरेको दोषी बोहोराको भनाइलाई उदृत गर्दै ती अधिकारीले भनेका छन्, ‘मैले सम्झनालाई मन पराउँथेँ, आमाबुबासँग बस्न आफू दुई वर्षका लागि भारत जान्छु भनेपछि मलाई यो मन परेन । त्यो साँझ मैले उनलाई शुरुमा बलात्कार गरेँ अनि मारेँ,’

‘पहिल्यैदेखि आपराधिक संलग्नता’
दोषी बोहोराको ‘स्कूलिङ्ग’ पहिल्यैदेखि नै ‘आपराधिक’ नै भएको प्रहरी श्रोतले मकालु खबरसँगको कुराकानीको क्रममा पुष्टि गरेको छ ।

उनले पहिल्यैदेखि नै महिला र बालिकाहरूको गहना खोस्ने, घर पसलमा चोरी गर्नेलगायतका काम गर्दै आएकोसमेत खुलेको थियो, बयानका क्रममा ।

श्रोतका अनुसार उनी कतिपय अवस्थामा र समयमा भारतमा गएर बस्ने गरेकोसमेत खुलेको थियो । यसैबीच दोषी बोहोराले साउन अन्तिम साता गाउँकै एक दलित बालिकालाई बलात्कार गरेको अनुसन्धानकै क्रममा खुलेको थियो ।

बलात्कारपछि पाँच सय रुपैयाँ राखेर खुट्टामा ढोग्न लगाइएको र बलात्कृत बालिकाको गर्भ रहे त्यसलाई आफूले स्वीकार्ने भन्दै मिलापत्र भएको पाइएको थियो ।

‘पीडित परिवारलाई राहत’
सम्झनाका परिवारलाई राहत दिनको लागि छलफल भइरहेको प्रजिअ भण्डारीले जानकारी दिए ।

‘सर्वदलीय बैठक बसिसकेको छ । पीडित परिवारलाई दिइने राहतको विषयमा छलफल भइरहेको छ ।’ मकालु खबरले राखेको जिज्ञासामा प्रजिअ भण्डरीले भनेका छन्, ‘दोषीले गल्ती स्वीकारिसकेको अवस्था छ ।

‘सम्झँदै घत’
निर्मला पन्तपछि थुप्रै बलात्कारका घटनाहरु सार्वजनिक भए । तर, अवोध बालिका सम्झना र निर्मलाको बलात्कार पछाडि हत्या सम्झनसमेत कष्टदायक छ । त्यसै पनि मृत्यु दुःखद् हुन्छ, अझ अबोध बालिकाहरुको हत्या हुनुले हरेक अभिभावकको मन चाहर्याउँछ ।

‘जरुर सुरक्षित भएको अनुभूति’
सचेत नागरिक, नागरिक समाज र सचेत पंक्तिले छोरीहरु सुरक्षित राख्ने वातावरण निर्माणका लागि आवश्यक आवाज उठाउनु जरुरी छ ।

शान्ति भूमि भनेर सधैं गर्व गर्ने प्रधानमन्त्री र राष्ट्रपतिका लागि निर्मला र सम्झनाहरु साना हुँदै होइनन् । यी घटनाहरु कानून र समाजका लागि मात्रै नभएर सरकारी अधिकारीहरुको नैतिकता समेत जोडिएका विषय हुन् ।

सम्झनाहरुको हत्याराले सजाय पाउनुले आम अभिभावकलाई आफ्नो छोरी सुरक्षित रहेको अनुभूति दिलाउनु पनि हो ।

प्रतिक्रिया