अब हरेक शुक्रबार रजिष्ट्रारद्वारा वीपी प्रतिष्ठानसँग सम्बन्धित गुनासो सुन्ने

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित कुनैपनि प्रकारका गुनासा तथा जानकारी राख्न सकिने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीसँग प्रतिष्ठानसँग सम्बन्धित रहेर जुनसुकै गुनासा तथा जानकारी टेलिफोनमार्फत राख्न सकिने व्यवस्था गरिएको छ ।

यसका लागि हरेक शुक्रबार १२ बजेदेखि १ बजेसम्मको समय निर्धारण गरीएको छ । प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सक, विद्यार्थी तथा आम सरोकारवालाहरुले आफ्ना गुनासा र जानकारी राख्न सक्ने व्यवस्था गरिएको हो । आम सरोकारवालाहरुले प्रतिष्ठानबाट प्राप्त भएका सेवा सुविधा तथा कर्मचारीका काम कर्तव्य तथा उनीहरुको व्यवहारका बारेमा पनि आफ्ना कुराहरु राख्न सक्ने रजिष्ट्रार डा. रेग्मीले भने ।

‘कतिपय कुराहरु हाम्रै कर्मचारीको पनि हुन्छ, शिक्षक, विद्यार्थी तथा चिकित्सकहरुले पनि प्रतिष्ठानको हितमा सोच्नुभएपनि कहिलेकाँही तत्कालै व्यवस्थापन पक्षसँग प्रत्यक्ष भेटघाट गरेर कुरा गर्न सकिने अवस्था नरहन सक्छ । यो ग्यापलाई कम गर्न हरेक हप्ताको शुक्रबार समय छुट्याएर टेलिफोन मार्फत कुराकानी गर्ने सोच बनाएको हुँ ।’ डा. रेग्मीले मकालु खबरसँग भने ।

यसका अलवा प्रतिष्ठानबाट प्रवाह हुने स्वास्थ्य सेवाका बारेमा पनि गुनासा तथा सल्लाह दिन सकिने छ । प्रतिष्ठानले रजिष्ट्रारसँग टेलिफोन मार्फत प्रत्यक्ष भेटघाटका लागि ०२५–५२०९९१ मा फोन गरेर संवाद गर्न सक्नेछन् । यसका अलावा कसैले लिखित रुपमा गुनासा तथा सुझाबहरु दिन परेमा रष्ट्रिार कार्यालयमा उजुरी पेटिकाको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया