प्रधानमन्त्रीको गुनासो- यसो छोयो कि बुरुक्क उफ्रिहाल्ने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सञ्चारमाध्यमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा प्रधानमन्त्रीले गुनासो व्यक्त गरे ।

यसअघि पनि पटकपटक मिडिया र सम्पादकहरूमाथि असन्तुष्टि पोखेका प्रधानमन्त्री ओलीले यसपटक पनि त्यो कुरा दोहोर्‍याएका हुन् । सरकारले गरेका राम्रा काम नदेखेको र विरोध मात्रै गरेको उनको गुनासो थियो ।

तर केही भन्यो भने बुरुक्क उफ्रने प्रवृत्ति सञ्चार जगतमा रहेको उनले बताए । ‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भने पनि छुट पाइन्छ, सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन,’ प्रधानमन्त्रीले भने- ‘एकदम सेन्सेटिभ नि १ यसो छोयो भनेदेखि बुरुक्क उफ्रिहाल्ने ।’

उनले सो भेटघाटका क्रममा यसअघि सम्पादकसँग भएको छलफलका क्रममा पनि गुनासो राखेको स्मरण गरे । ‘अलि अगाडि मसँग सञ्चारकर्मीहरू, सम्पादकहरूले भेट्नुभयो र हामीलाई यसो किन भन्नुभयो ? भनेर भन्नुभयो । मैले भने तपाईंहरूले दिनरात गाली गर्दा हुन्छ । मैले अलिकति भने पनि तपाईंहरू दिनरात गाली गर्ने के हो यो ?’

उक्त भेटमा प्रधानमन्त्री ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताए । पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत सुनिश्चितता गर्ने र अन्य क्षेत्रमा सम्भव भएसम्मका सहयोग, सुरक्षा र संरक्षण हुने प्रधानमन्त्रीको भनाई थियो ।

प्रतिक्रिया