२२ दिनमा १२३ वटा पसलमा अनुगमन : बरामद १३ हजार २ सय ६८ किलो प्याज सस्तोमा बिक्री !

काठमाडाैं । काठमाडौं महानगरले गएको २२ दिनमा तरकारी, फलफुल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको छ ।

बजारमा खाद्य बस्तु तथा प्याजलगायत तरकारीमा अत्याधिक मूल्य बढेको गुनासो आउन थालेपछि उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा रहेको ‘उपभोक्ता हित संरक्षण समिति’ले नियमित अनुगमन गरेको हो ।

अनुगमनका क्रममा पसलमा मूल्य सूची, व्यवसाय दर्ता र नविकरण, नापतौलको प्रमाण पत्र, लेवलमा खुलाउनु पर्ने विवरण, म्याद गुज्रिएका सामानको व्यवस्थापन, बिल लिने दिने प्रत्रिया, खाद्य अनुज्ञा पत्र भए नभएको हेरिएको थियो ।

यसैगरी यसअघि दिइएका निर्देशनको पालना र तौल जस्ता बिषय पनि हेरिएको उपभोक्ता हित संरक्षण समितिकाे मासिक अनुगमन प्रतिवेदन २०७७ मा उल्लेख छ । यस क्रममा काठमाडौंका ठूला तरकारी बजारहरुमा कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरको फलफुल पसल हेरिएको जानकारी दिइएकाे छ । यस्तै दाल, चामल र तेलका ठूला गोदामहरुमा कुलेश्वर, कोटेश्वर, बालाजु, बनस्थली, बत्तीसपुतली क्षेत्र हेरिएको छ । बजारमा खरिद बिक्रीको चक्र थाहा पाउन अनुगमन टोलीले खुद्रादेखि होलसेलसम्म पसलहरुलाई प्रतिनिधिमुलक रुपमा हेरेको प्रतिवेदनमा उल्लेख छ ।

अनुगमन अवधिमा किराना पसलतर्फ खुद्रा, होलसेल र गोदाम, तरकारी तथा फलफुल बजारको अवस्था हेरिएको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफुल बजारका २ र बल्खु तरकारी तथा फलफुल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा छन् ।

उनीहरुले ४६ रुपैयाँमा खरिद गरेको प्याजको कृतिम अभाव सृजना गरेर १३० रुपैयाँ मूल्यमा बेचिरहेका थिए । उनीहरुबाट बरामद भएको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत् सबै खर्च कटाएर अधिकतम ६० रुपैयाँ प्रतिकिलो रुपैयाँमा प्रतिव्यक्ति ३ किलोका दरले बिक्री प्रबन्ध गरिएको महानगरकाे भनाइ छ ।

अनुगमन गरिएका १२३ ठाउँमध्ये २६ वटा पसललाई आर्थिक जरिवाना गराइएको छ । व्यापारमा भएको कसुरका आधारमा अनुगमन टोलीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागलाई कारवाहीका लागि लेखेर पठाउने गरेको छ । विभागले व्यापारीलाई उपभोक्ता संरक्षण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर आर्थिक जरिवाना तिराउँदै आएको छ । यसरी तिराइएको जरिवानाबाट १२ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जरिवाना पर्नेले कम्तीमा १ हजार र बढीमा २ लाख ५५ हजार रुपैयाँ तिरेका छन् ।

बिक्रीका लागि राखिएका उपभोग गर्ने समय सकिएर प्रयोग गर्न नमिल्ने सामान बेचिरहेका ११ वटा पसलबाट करीब १० लाख रुपैयाँ मूल्य बराबरका सामान बरामदपछि नष्ट गरिएको छ । यसरी नष्ट गरिएका सामानहरुमा दल मैदा, खाने तेल, बट्टा वा प्याकेटमा राखिएका खानेकुरा, चकलेट, मिठाइ, बिस्कुट, मसला, फलफुल, जुस, चाउचाउ, चाउमिन, पानीलगायत खानेकुरा तथा पेय पदार्थ छन् । खुद्रा व्यापार गर्ने ७६ वटा पसललार्ई ७ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ ।

बाँकी पसललाई सुधारका लागि सचेत गराइएको छ । यसरी सचेत गराइएका व्यापारीलाई अनुगमन टोलीले गर्नु भनेको काम गरेर त्यसको प्रमाण लिएर महानगरमा सम्पर्क गर्न भनिएको छ । यीमध्ये २२ जना व्यापारी अनुगमन टोलीको सम्पर्कमा आएका छन् ।

नेपालको संविधानको अनुसूची ८ ले र स्थानीइ सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले नियमित तरकारी, फलफुल र माछामासुको अनुगमन गरिरहेको छ । टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगरको पशु सेवा विभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका पदाधिकारी सहभागी थिए । टोलीले सामान बरामद गर्न, नष्ट गर्न तथा अन्य आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र नगर प्रहरीसँग समन्वय गर्ने गरेको छ ।

मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगिनबाट बचाउन स्वच्छ, स्वस्थ्य र प्रतिस्पर्धी बजार व्यवस्थापनको जरुरी छ । यसमा महानगरपालिकाले नियमित निगरानी गर्ने उपभोक्ता हित संरक्षण समितिकी संयाेजक एवम् काठमाडाैं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले बताइन् ।

प्रतिक्रिया