सवारी दुर्घटनामा परी विभिन्न जिल्लाका चार जनाको मृत्यु

काठमाडौं । विभिन्न जिल्लामा सवारी दुर्घटनामा परी चार जनाकाे मृत्यु भएकाे छ ।

झापा, शिवसताक्षी नगरपालिका-८ स्थित सडकमा बा११ च ५९९० नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीया कमला चापागाईको मंगलबार बेलुका मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै कालीकोट, तिलागुफा नगरपालिका-५ खल्लागार्ड पुल नजिकै सडकमा लु२ च २४१२ नम्बरको जिप अनियन्त्रित भइ मंगलबार दिउँसो दुर्घटना हुँदा जिप चालक सुर्खेत भेरीगंगा नगरपालिका-१२ बस्ने २८ वर्षीय कर्ण बहादुर खड्काको घट्नास्थलमै मृत्यु भएको छ ।

उता बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना६ त ८२८३ नम्बरको ट्याक्टरले ना६२ प ८३८ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका करिब २२ वर्षीय पुरुषको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको अल्पाइन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ छवघरियामा ज१ त ७९५१ नम्बरको ट्याक्टरमा ज५ प २६४२ नम्बरको  मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका-७ किशनपुर बस्ने ३५ वर्षीय प्रमोद सहनीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जनाहामा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया