बलात्कार तथा हत्या घटना : संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । बलात्कारको घटना बढ्दै गएको भन्दै दुई संसदीय समितिहरूले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग छलफल गर्ने भएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन र महिला तथा सामाजिक समितिले मुलुकका विभिन्न जिल्लामा महिला र  बालिका बलात्कार तथा हत्याको घटनाको बारेमा छलफल गर्न लागेका हुन् ।

अहिले केहीबेरमा शुरू हुने बैठकमा दुवै समितिले गृहमन्त्रीसँगै गृहसचिव तथा प्रहरी प्रमुखलाई समेत बोलाइएको बताइएको छ ।

समितिमा महिलाविरुद्ध हुने हिंसा, हत्या, बलात्कार सम्बन्धी घटना र कानून कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल गर्न लागिएको समिति सदस्य थममाया थापाले जानकारी दिइन् ।

यस्तै, दीगो विकास तथा सुशासन समितिले संवैधानिक आयोगहरूमा नियुक्तिको विषयमा छलफल गर्न बुधबार नै बैठक बोलाएको छ ।

पछिल्लो पटक बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रशासनले बताएको छ ।

प्रतिक्रिया