आईजीपी थापा भन्छन्- ‘निर्मला पन्तकाे हत्याबारे अनुसन्धान जारी छ, छिट्टै निष्कर्षमा पुग्छाैँ’

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कार तथा हत्याबारे अनुसन्धान भइरहेकाे र छिट्टै निष्कर्षमा पुगिने बताएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेकाे प्रश्नकाे जवाफ दिने क्रममा उनले यस्ताे बताएका हुन् । समितिकी सभापति शशी श्रेष्ठले निर्मला प्रकरणकाे अनुसन्धान कहाँ पुग्याे भनेर जानकारी मागेपछि आइजीपी थापाले छिट्टै निष्कर्षमा पुगिने बताएका हुन् ।

समितिमा उनले भने, ‘निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रूपमा अनुसन्धानमा लागेका छौँ । अनुसन्धानका लागि प्रहरी अधिकृतलाई संघबाट पठाएका छौँ। छिट्टै निष्कर्षमा पुग्नेछाैँ ।’

यसअघि निर्मला प्रकरणकाे अनुसन्धानका क्रममा अनुसन्धानमा संलग्न अधिकारीले आरोपितलाई यातना दिएको भनेर अदालतमा मुद्दा परेको थियाे । अहिले उक्त मुद्दामा जिल्ला अदालतले सफाइ दिइसकेकाे छ । अदालतकाे उक्त सफाइले  अनुसन्धानलाई सहयोग मिलेको तथा तयार गरेको विगतको लिखतको विश्वसनियता बढेको थापाकाे भनाइ छ ।

‘निर्मला प्रकरणले नेपाल प्रहरीको इमेजमा क्षति पुगेकाे थियाे । अहिले अनुसन्धानमा संलग्न अधिकारीहरूले सफाइ पाइसकेकाे अवस्था छ । अब तीव्र गतिमा अनुसन्धान अगाडी बढ्नेछ, ’ उनले भने, ‘यो घटनामा हामीले पनि पार लगाउन नसके सदाका लागि धब्बा हुनेछ भन्नेमा सचेत छौँ ।’

निर्मलाको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएकाे थियाे । साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट अर्थात् साउन ११ गते स्थानीय उखुबारीमा फेला परेको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा एक दर्जन बढी प्रहरीमाथि यातना तथा अनुसन्धानमा लापरवाही गरेकाे आरोप लागेको थियो ।

स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानविन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो । छानविन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको थियाे । अहिले आरोपित प्रहरीहरूले सफाइ पाइसकेका छन् ।

अहिले फेरि निर्मलाकाे जस्तै बझाङकी सम्झना कामीकाे बलात्कार तथा हत्या प्रकरणले समाज तातेकाे छ । उनकाे घटनाकाे पनि विराेध भइरहेकाे छ भने दाेषी छिट्टै पक्राउ गर्नुपर्ने माग गरिएकाे छ । दिनहुँजसाे प्रदर्शन भइरहेका छन् ।

आइजीपी थापाले निर्मलाको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धान गर्नका लागि सहयोगीको रूपमा केही दिनका लागि खटाइएको पनि जानकारी दिए ।

प्रतिक्रिया