हलिउड अभिनेता बोसम्यान, जसले महिलाकाे आवाज बुलन्द बनाउन आफ्नो पारिश्रमिक कटाैती गरे

एजेन्सी । विश्वमा नै महिलालाई पुरूषकाे तुलनामा कम पारिश्रमिक दिने अभ्यास अझै छ । स-साना मजदुरीदेखि माेडलिङ क्षेत्रमा समेत यसले नराम्ररी प्रभाव जमाएकाे छ । दुवैकाे परिश्रम समान भएपनि महिलालाई कम पारिश्रमिक दिने गरिन्छ ।

याे विभेदकाे विराेध पनि विश्वव्यापी रूपमा नै भइरहेकाे छ । बलिउडदेखि हलिउडसम्मका महिला अहिले पनि संघर्षरत् छन् । हलिउडमा अझै पनि यसकाे चर्चा भइरहेकाे छ । यसमा अभिनेत्रीहरूको आवाज सशक्त रूपमा चलेको नै छ ।

थुप्रै अभिनेताहरूले पनि यसमा अभिनेत्रीहरूलाई साथ दिएका छन् । जसकाे एक उदाहरण हुन् ‘ब्ल्याक प्यान्थर’ का शीर्ष नेता चाडविक बाेसम्यान । एक अभिनेत्रीले उनकाे साथबारे खुलासा गरेकी हुन् ।

बाेसम्यानकाे भदाै १२ गते क्यान्सरका कारण निधन भएकाे थियाे । अभिनेत्री सियाना मिलरले अभिनेता बोसम्यानलाई सम्झदै ‘२१ ब्रिजेज’ मा काम गर्दा आफ्नो पारिश्रमिक कटौती गरेको बताएपछि यसबारे खुलासा भएकाे हाे ।

सिनेमाका लागि सियानाले आफ्नो एउटा पारिश्रमिक तोकेकी थिइन् जसलाई दिन निर्माण कम्पनी तयार थिएन । बोसम्यान सो सिनेमाका निर्माता समेत थिए । अन्य निर्माताहरू मागेको पारिश्रमिक दिन तयार नभएपछि सिनेमाबाट आफूले पाउने रकममध्येको केही रकम उनले सियानालाई दिने व्यवस्था मिलाएका थिए ।

‘उनी मेरो कामको प्रशंसक थिए, जुन मेरा लागि रोचक थियो । उनी मेरो कामबाट प्रभावित थिए । उनले मलाई कामका लागि प्रस्ताव गरे, जबकी लगातार काम गरिरहेकाले म काम गर्ने मनस्थितिमा थिइन्,’ उनले भनिन्,  ‘तर उनले प्रस्ताव गरेपछि म काम गर्न तयार भएँ । त्यो सिनेमाको बजेट ठूलै थियो र सबैलाई थाहा छ हलिउडमा पारिश्रमिकमा कति असमानता छ । पुरूषमा यस्तो शालिनता र सम्मानजनक व्यवहारको अपेक्षा त्यो शहरमा गर्न सकिन्नँ ।’

प्रतिक्रिया