वीपी प्रतिष्ठानमा सप्तरीका संक्रमित पुरुषको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका-४ का ३९ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ३ः१० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ती युवकलाई विराटनगरको गोल्डेन अस्पतालबाट प्रतिष्ठानमा रिफर गरिएको थियो । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या थियो । असोज ९ गते प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना देखिएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो । उच्च रक्तचाप र १० वर्षदेखि मधुमेहको समस्याबाट पीडित उनको बिहान उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

प्रतिक्रिया