खबर दिनभर : यी हुन्, आजका १० प्रमुख समाचारहरु (भिडियोसहित)

१. मन्त्रिपरिषद् पुनर्गठनबारे आज पनि छलफल
मन्त्रिपरिषद् पुनर्गठनका लागि आज पनि सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा ओली–प्रचण्ड तीन दिनदेखि लगातार छलफलमा जुटेका छन् । तर मोडालिटीमा कुरा नमिल्दा निर्णय हुन सकेको छैन ।

हिजो सोमबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो । तर निष्कर्ष ननिस्किएपछि आज पनि छलफल भएको हो । आजको छलफल पनि निष्कर्ष बिहीन टुंगीएको छ ।

२. सर्वोच्चको आदेश : वर्षको ६ पटक घरेलु मदिरा उत्पादन गर्न दिनु
सर्वोच्च अदालतले घरेलु मदिरा उत्पादनमा पूर्ण प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ । सर्वोच्चले घरेलु मदिरा उत्पादनमा पूर्णरुपमा रोक नलगाई वर्षको ६ पटकसम्म मदिरा उत्पादन गर्न दिने फैसला गरेको हो ।

न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसमा एकपटकमा पाँच लिटर मदिरा र १० लिटर जाँड घरेलु रूपमा उत्पादन गर्न दिने उल्लेख छ । सर्वोच्चले मदिरा ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार नै घरेलु मदिरा उत्पादन गर्न दिने आदेश दिएको हो ।

आदेशमा भनिएको छ,‘ मदिरा ऐन २०३१ को दफा ७ अनुसार निजी उपयोगका निमित्त तोकिएको मात्रामा रक्सी वा जाँड बनाउन पाउने व्यवस्था गरेको देखिन्छ, मदिरा निययमहरू २०३३ को नियम ७ मा उल्लेख भएअनुसार एकपटकमा ५ लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन दिनु । वर्षको ६ पटकसम्म मात्रै बनाउन दिनु।’

यो फैसला अनुसार अब घरेलु मदिरा उत्पादन गर्नेले वर्षभरिमा ३० लिटर मदिरा र ६० लिटर जाँड उत्पादन गर्न पाउने छन् ।
२०७६ माघ ५ गतेको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको थियो ।

३. १५१३ मा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ९३४ जना
पछिल्लो २४ घण्टामा १ हजार ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।
देशभर २० हजार ३९६ सक्रिय संक्रमित छन् ।

४. ‘कांग्रेसमा भोटर मात्रै भएर बसेको धेरै भयो, अब महिलाहरू पदाधिकारी बन्नुप¥यो’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवाले नेतृत्वमा जान महिलालाई पुरूषले नदिएको बताएकी छन् ।
नेपाल महिला संघले आयोजना गरेको ‘महिलाको नेतृत्व र विधान तथा क्रियाशील सदस्यको सवाल’ भर्चुअल अन्तक्र्रियामा नेतृ देउवाले यस्तो बताएकी हुन् ।

उनले नेपालको संविधान र कांग्रेस पार्टी विधानमा महिलाको बारेमा धेरै कुरा लेखिएको भए पनि व्यवहारिक कार्यान्वयन हुन नसकेको पनि उल्लेख गरिन् । क्षमता राख्ने महिलालाई पार्टी नेतृत्वले अघि बढाउनुपर्ने उनको भनाइ छ ।

नेतृ आरजुले कांग्रेसमा महिलालाई अहिलेसम्म भोटरमात्र बनाइएको बताइन् । सहमहामन्त्रीमा महिलालाई सीमित गर्न नहुने उनको तर्क छ ।

‘जसपाको ११ प्रदेश मृग मरीचिका जस्तै हो’ सरिता गिरी
जनता समाजवादी पार्टीकी पूर्व सांसद सरिता गिरीले जसपाको नेतृत्वमा नेपालमा ११ प्रदेशको स्थापना हुनै नसक्ने बताएकी छन् । सामाजिक सञ्जालमा आफ्ना धारणाहरु राख्दै पूर्वमन्त्री गिरीले जसपाले उठाएको ११ प्रदेशको धारणा कल्पनामा सृजना गरेको मृग मरीचिकाको संज्ञा दिएकी छन् ।

जनजाति तथा खस समुदायका नेताहरुले मधेशको मतमाथि ग्रहण लगाउन खोजेको गिरीको आरोप छ । उनले जसपाका बरिष्ठ नेताहरुले १० प्रदेश पारित गर्न तैयार पहिलो संविधान सभाको विघटन गराएको समेत आरोप लगाएकी छन् ।

जसपाको अहिलेको १० र १ प्रदेशको अवधारणा मधेशको मतको औपनिवेशीकरणको फर्मूला भएको गिरीको दावि छ ।

गिरीलाई नेपालको राजनैतिक नक्सा जारी गर्दा प्रतिनिधिसभामा फरक मत राखेपछि संसद पदबाटै बर्खास्त गरिएको थियो ।

६. बन्द गरियो सर्लाहीका १६ क्रसर उद्योग, खुल्ने अनिश्चित
सर्लाहीमा गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्डअनुसार ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एंव प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ मा बस्ती, मुख्य सडक मार्ग, विद्यालय, स्वास्थ्य संस्था क्षेत्र, ठूला नदी, पुल, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान र वन क्षेत्रको ५०० मिटरदेखि दुई किलोमिटरभित्र नदीजन्य पदार्थ उत्खनन र संकलन गर्ने गराउने कुनै पनि कार्य गर्न नपाइने उल्लेख छ ।

७.विवादपछि रद्ध भयो यो वर्षको पद्यमश्री पुरस्कार र सम्मान
यस वर्षको पद्यमश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ । खेमलाल–हरिकला प्रतिष्ठानले एक विज्ञप्ति निकाल्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको बताएको हो ।

विवाद र असहज परिस्थिति भएको भन्दै यो वर्षका लागि घोषित सम्मान तथा पुरस्कारको निर्णय रद्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानले गएको ११ असोजमा पद्यमश्री पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’लाई र पद्यमश्री सम्मान मोदनाथ प्रश्रीतलाई दिने निर्णय गरेको थियो ।

८. वीपी प्रतिष्ठानका चिकित्सकले उपकुलपति बर्खास्तको माग गरे, ‘ब्यवस्थापनबाट धम्की आयो’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर चिकित्सकहरुले डा. ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न माग गरेका छन् । उपकुलपतिको अकर्मन्यताका कारण प्रतिष्ठानको व्यवस्थापन कमजोर भएको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

गत बिहीबारदेखि मेडिकल एण्ड डेण्डल वेलफेयर सोसाइटीको नेतृत्वमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले आज आन्दोलनलाई निरन्तरता दिंदै उपकुलपतिकै बर्खास्तीको माग गरेका छन् ।

प्रतिष्ठानका उपकुलपतिले आफ्ना न्युनतम मागहरु समेत पुरा गर्न चासो नदेखाएकोले प्रतिष्ठान सञ्चालन गर्न योग्य नरहेको समेत बताउँदै उनीहरुले उपकुलपति बर्खास्तको नारा लगाएका हुन् ।

उनीहरुले उपकुलपतिले जथाभावि गरेको नियुक्ति र कर्मचारी सरुवाको पनि विरोध जनाएका छन् ।

९. आज पनि घट्यो शेयरबजार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ विन्दुले ओरालो लागेर १ हजार ५५३.६२ मा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर ३०७.८२ मा ओर्लिएको छ । कूल १९२ कम्पनीको ७३ लाख पाँच हजार १११ कित्ता शेयर १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ मूल्यमा खरिद बिक्री भएका छन् ।

१०. क्यालिफोर्नियाको डढेलोका कारण १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास, २६ जनाको मृत्यु
अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटरमा रहेको जङ्गली क्षेत्र विनास भएको क्यालिफोर्नियाको वन तथा आगलागी नियन्त्रण विभागले जनाएको छ ।

डढेलोका कारण कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

उक्त क्षेत्रमा ६६ हजारभन्दा बढी नागरिकलाई घर छोडी सुरक्षितस्थलतर्फ जान निर्देशन गरिएको छ ।

प्रतिक्रिया