असोज १९ गतेदेखि तातोपानी नाका खुल्ने

काठमाडौं । सिन्धुपाल्चाेकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएकाे छ ।
असाेज १८ सम्म तयारी पुरा गर्ने र १९ देखि सञ्चालनमा ल्याउने सहमति भएकाे प्रजिअ ढकालले बताए । उक्त सहमतिसँगै असाेज १९ बाट चिनियाँ सामान नेपाल झार्ने तथा त्यहाँका सामान नेपाल आउन सुरू हुने उनकाे भनाइ छ ।
चीनको न्यालमको ताल फुट्ने अवस्थामा रहेको र बाढीपहिरोले सडक अवरुद्ध भएपछि तातोपानी नाका बन्द अवस्थामा थियाे । नाका बन्द भएपछि तातोपानी पारी खासामा नेपाली व्यवसायीका सामान थन्केको ६ महिना बितेको छ ।
अब खाेल्ने तयारी गरिएसँगै नाकामा पनि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना हुने बताइएकाे छ । चीनबाट ल्याएका सामान लोड-अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५ जना र २९ जनाको दुई वटा श्रमिक समूह तयारी अवस्थामा रहनेछन् । श्रमिकको हरेक ५/५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति भएको बताइएकाे छ ।








