विभिन्न मुद्दाका फरार ५ प्रतिवादी पक्राउ

काठमाडौं । विभिन्न मुद्दाका फरार प्रतिवादी विभिन्न जिल्लाबाट पक्राउ परेका छन् ।
पर्सा, लागूऔषध मुद्दाका फरार प्रतिवादी पकाहा मैनपुर गाउँपालिका-१ बस्ने ४८ वर्षीय रामनाथ मेहतालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत पर्साको २०७५ पुस २९ गतेको फैसलाले लागूऔषध मुद्दामा ३ महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पर्सा, लागूऔषध सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी वीरगञ्ज महानरगपालिका-१८ बस्ने ३० वर्षीय कुँवर सिंहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । २०७७ जेठ २६ गतेबाट फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-१८ स्थित सडकबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि सोमबार जिल्ला अदालत पर्सामा पेश गरेकोमा पुर्पक्षको लागि वीरगञ्ज कारागारमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।
त्यस्तै पर्सा, सार्बजनिक शान्ति विरुद्ध अपराध मुद्दाका फरार प्रतिवादी पकाहा मैनपुर गाउँपालिका-१ धोरे बस्ने ५० वर्षीय मलख राउत यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पर्साकै पोखरिया नगरपालिका-६ बस्ने ४८ वर्षीय चन्द्रिका महतोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाको घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पोखरिया नगरपालिका-७ स्थित सडकबाट पक्राउ गरेको हो ।
उता स्याङ्जा, सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका-८ घर भइ कास्की पोखरा महानगरपालिका-१० बस्ने ४१ वर्षीय राज कुमार नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
ज्यान मुद्दामा २ वर्ष कैद भुक्तान गर्न बाकी रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत स्याङजामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय स्याङजा पठाइएको उक्त कार्यालयले जनाएको छ ।








