‘प्रधानमन्त्री ज्यू, नक्कली प्रशंसाबाट बाहिरिनुस् !’

दुई तिहाईको बर्तमान सरकारले जनजिविकाका सन्दर्भमा धेरै काम गर्छ भन्ने आम विस्वास थियो । तर, इतिहासकै स्पष्ट बहुमतका साथ दुई तिहाई जनमत पाएर तिनै तहमा सरकार गठन गरेको सत्तारुढ नेकपाले एउटै गतिलो काम गर्न सकेन । स्थानीय र प्रदेश सरकार त नाम मात्रका भए । केन्द्र सरकारको के कुरा गर्नु अढाई वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उखान टुक्का सुनेरै दिन विताइयो । दुई तिहाईको सरकारले केही स्मरणीय काम गरेर मुलुकको राजनीति र राजनीतिज्ञप्रति जनतामा बढ्दो निराशा कम गर्ला अथवा मुलुकलाई संमृद्धशाली राष्ट्र निर्माणमा अगाडी बढाउला भन्ने आश थियो । तर, संमृद्ध मुलुक सुखी नेपालीको आश देखाएर दुई तिहाई जनमत बटुलेको सरकारले अढाई बर्षसम्म उखान टुक्का र विकासे गफै गरेर समय वितायो अनर्थ नहोला ।

भन्नेहरुलाई ठाउँ छ, सरकारले चाहेर पनि गर्न सकेन । एकपछि अर्को गर्दै आइलागेको विपत्तिले सरकारले भनेजस्तो काम गर्न पाएन । सरकारलाई मात्रै दोष दिएर हुँदैन । प्रतिकुल अवस्थामा सरकारले चाहेरपनि मुलुकको आर्थिक, सामाजिक, राजनीतिक व्यवस्था सुधार्न सक्दैन । सरकार पक्षकाले भाषणहरुमा भन्ने शब्दहरु हुन् ।

तर, के मुलुकमा आइपरेको प्राकृतिक विपत्ति र विश्वभर फैलिइरहेको कोरोना भाइरसकै कारण सरकारले गर्न नसकेको हो ? समिक्षा गरौं ।

ओली सरकार गठनको अढाई वर्ष पुग्दै गर्दा विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा फैलिन थालेको भर्खरै ६ महिना पुग्यो । अझ र्यापिटली मुलुकभित्र कोरोनाले त्राहिमाम मच्चाएको अथवा लकडाउनका कारण मुलुकको अर्थतन्त्र ठप्प भएको आधा वर्ष पनि भएको छैन । तर, यसैलाई कारण देखाएर काम गर्न सकिएन भनेर पन्छिन कसरी मिल्छ ? कोरोना आउनु अघिको २ वर्ष सरकार किन चुक्यो ?

ओली सरकार गठनको पहिलो बर्ष संघियता कार्यान्वयनको वर्ष भनिएको थियो । र सोहि अनुरुप मुलुकलाई संघिय संरचनामा लैजान आवश्यक निती तथा कानुन निर्माण गर्नेदेखि संघिय सरकार गठनका लागि सरकारले समय लियो । दोस्रो वर्षदेखि संमृद्ध नेपाल, सुखी नेपालीको नारा अगाडी सारेर प्रधानमन्त्रीले तामझामपूर्वक कार्यक्रमहरु ल्याए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गाउँगाउँमा रोजगारका कार्यक्रमहरु पुर्याइएको भनियो । उर्जा क्षेत्रको विकास र विस्तारका लागि नविनतम कार्यक्रम तयार गरीएको भनियो, शिक्षा स्वास्थ्य, सञ्चार, सडक, खानेपानी, कृषि लगायत स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारले गर्ने कार्यक्रमको फेहरिस्त तयार त पारियो तर, ति सबै कागजी कार्यक्रम मात्रै रहेछ भन्ने जनताले त्यत्तिबेला पत्तो पाए जतिबेला सरकारले प्रत्येक वर्षको खर्च विवरण सार्वजनिक गर्यो । जनता लक्षित भनिएका कार्यक्रम त आफ्ना पार्टीका नेता कार्यकर्ता पोस्ने भाँडो पो रहेछ । प्रधानमन्त्री केन्द्रीत अधिकांश सामाजिक कार्यक्रमहरु झार काट्ने, कुचो लगाउने र गाउँघरका चीया चौतारीमा गफ लडाउने माध्यम मात्रै रहेछ ।

मुलुकको आर्थिक बृद्धिको सूचकांक दुई अंकमा पुर्याउने लक्ष्य लिएर तयार गरीएका कार्यक्रमहरुले मुलुकको अर्थतन्त्र सिध्याउने काम वाहेक कुनै ठुला उपलब्धी हासिल गर्न नसक्नुको कारणहरुमा पर्याप्त छलफल र अध्ययनविना बनाइएका यस्तै ‘बकम्फुसे’ योजना नै हुन् ।

शूशासनका सवालमा कुरा गरिसाध्ये छैन । केन्द्रदेखि प्रदेश र स्थानीय तहमै शूशासन हैन ‘कूशासन’ मौलायो । एउटा सामान्य चिया पसल गरेर गुजारा गर्नेबाट समेत कर असुल गरेको सरकारले विगतमा सिंहदरबारमा हुने भ्रष्टाचारलाई वडा, गाउँ र प्रदेशसम्मै पुर्याइदियो । राजनीतिक संरक्षणमा स्थानीय तहमा हुने विकास निर्माणका काममा ठूल्ठूला भ्रष्टाचार भए । वडामा नागरिकताको लागि सिफारिस बनाउँदा समेत घूस खाने मनोवृत्ति दुबो झैं मौलायो ।

प्रदेश सरकार त भ्रष्टाचारकै अखडा भइगयो, मुख्यमन्त्री कार्यक्रम भन्दै प्रदेश सरकारले पानी नभएका ठाउँमा पोखरी खने, माछा पाले, खोला नभएका ठाउँमा पुल बनाए । ‘लूटको धन कुन्नी कसको श्राद्ध’ भनेजस्तो गरी राष्ट्रिय ढुकुटीमा ‘लूटतन्त्र’ मच्चाउनु मुलुक र जनताका लागि घातक हो ।

केन्द्र सरकारको त के कुरा गर्नु ऊ त भ्रष्टाचारीको संरक्षक नै भइगयो । बालुवाटारबाटै भ्रष्टाचारका गन्धहरु बाहिरिए । बालुवाटार जग्गा काण्ड, यति होल्डिङ काण्ड, सेक्युरिटी प्रेस काण्ड, ओम्नी काण्ड यस्ता अनगिन्ती काण्डैकाण्डमा सरकारका मन्त्रीहरु मुछिए । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका यी राज्यका तीन अंगहरु जसले यो अढाई वर्षमा मुलुकमा नीतिगत भ्रष्टाचार र कूशासन कायम गर्नुवाहेक उल्लेख गर्न लायक कुनै कामै गर्न सकेनन् ।

पछिल्लो ६ महिना यता सरकारलाई काम गर्न सकिएन भनेर जनतालाई भ्रम छर्ने राम्रो बहाना भएको छ ‘कोरोना भाइरस’ नौ महिना अघि चीनको वुहानबाट विश्वब्यापी भएको कोभिड–१९ नेपालमा त्यसको अढाई महिनामा मात्रै आइपुग्यो । जनतालाई कोरोना संक्रमणबाट बच्न र बचाउन सरकारसँग यथेष्ठ समय थियो । तर, सरकार अढाई महिनासम्म फगत कोरोनाको ‘रामायण’ भट्याउन मै सिमित भयो ।

मुलुकभित्र कोरोना ‘सलह’ फैलन थालेपछि सरकारले त्यसलाई रोकथाम गर्न हैन कि कोरोना महामारीबाटै कसरी कमाउन सकिन्छ भनेर योजना बनाइयो ।

कोरोनालाई कमाउने भाँडो बनाउँदा १० औं अर्ब बालुवामा पानी हाले बराबर भयो । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय, प्रदेश र केन्द्रसम्मै क्वारेन्टाइन, आइसोलेसन सेन्टर, अस्पताल निर्माणमा अरबौं खर्च गरियो कहाँ कसरी कति खर्च गरीयो सरकारसँग रेकर्ड समेत छैन । बालुवामा पानी खन्याए सरह गरीएको खर्चले कोरोना नियन्त्रणमा केही उपलब्धी नभएको छ अहिले देखिँदैछ ।

कोरोना स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारले त्यसमा संलग्नलाई आर्थिक रुपमा सम्पन्न त गराउला तर, कोरोनाको पिडाबाट आक्रान्त जनताले दिएको श्रापले आजन्म पिरोल्ने छ । झन कोरोनाबाट बच्न भन्दै छ महिनासम्म लगाइएको लकडाउनले दैनिक ज्यालादारीबाट जीवनयापन गर्नेहरुले एक छाक खान नपाएर आत्महत्यासम्मको बाटो अपनाएका छन् तिनको आँशु यो सरकारलाई लाग्ने नै छ । समयले अवस्य देखाउला ।

कुनैपनि काम गर्न सर्वप्रथम योजना चाहिन्छ । झन सरकार चलाउने कुरा त हावादारी हुँदैहैन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन नत योजना बनाए, नत योग्य मान्छे नै राखे । उल्टै सरकारमा भएका सक्षम र योग्यलाई निकालेर चाकरी र चाप्लुसीबाट नजिक भएकालाई अयोग्यलाई काखी च्याप्ने काम गरे । ‘बादशाहको नयाँ लुगाको कथा’को सर्वाङग नाङ्गो राजालाई ‘आहा ! महाराजलाई यो लुगा कत्ति सुहाएको’ भन्दा ओली त्यहि नक्कली प्रशंसामा भुल्नाले मुलुकको यो दुर्गति भएको हो ।

कोरोना संक्रमणकै भयावह अवस्थामा भारतले नेपालको भूमी मिच्यो भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापनी फिर्ता हुनुपर्छ भनेर नयाँ नक्सा समेत सार्वजनिक गर्दै भारतीय विस्तारवादको विरुद्ध चर्को भाषण दिएका राष्ट्रवादी नेताको असली चरित्र त कालापानी लिम्पीयाधुरा र लिपुलेकको भूमी फिर्ता सम्बन्धमा अहिले देखाएको सुस्तताबाटै छर्लंग हुँदैछ । ओली सरकारको राष्ट्रवाद, शुशासन, मितव्ययितता दुनियाँका अगाडी नाङिगइसकेको छ । अब बालुवाटारबाट जति नै फुलवुट्टा भरेर भाषणबाजी गरेपनि जनताले पत्याउनेवाला छैनन् ।

अहिले बालुवाटारमा प्रधानमन्त्री ओलीको नक्कली प्रशंसा गर्नेहरुको जगजगी छ । जसले त्यहाँका झ्याल ढोकासमेत बन्द गरेर ओलीलाई नक्कली प्रशंसाका शब्दहरुमा भुलाईरहेका छन् । प्रधानमन्त्री ओली गोयवल्स शैलीमा गरीएका नक्कली प्रशंसाबाट बाहिरिनु अपरिहार्य छ । त्यो उनको लागि, उनको पार्टीको लागि मात्र हैन मुलुक र यहाँका साँढे तीन करोड नेपाली जनताका लागि पनि हो ।

जबसम्म ओली नक्कली प्रशंसाबाट बाहिर निस्कने चेष्टा गर्दैनन् । अथवा जबसम्म बालुवाटारबाट पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका जनताको घरदैलोमा चिहाउने हिम्मत गर्न सक्दैनन्, तवसम्म मुलुकको आर्थिक, सांस्कृतिक, सामाजिक विकास असंभव छ । संमृद्ध मुलुक सुखी नेपालीको सपना असंभव छ ।

प्रधानमन्त्री ज्यू, अढाई वर्ष त जसोतसो सत्तामा हुनुहुन्छ । तर, अबको अढाई वर्षपछि तपाईको भविष्य कस्तो होला, पार्टीको राजनीति कता जाला, के जनताले अहिलेकै जस्तो दुई तिहाईको मत देलान् ? समिक्षा गर्नुहोस् ।

प्रतिक्रिया