खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडियोसहित)

राष्ट्रपतिबाट तेजाबलगायत तीन अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तेजाबलगायतका तीन अध्यादेश सोमबार जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालका अनुसार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी भएको हो ।

सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको हो । एसिड छ्याप्ने दोषीलाई २० वर्ष जेल सजाय र पीडितलाई पीडकबाटै मनासिब क्षतिपूर्तिको कडा व्यवस्थासहित सरकारले अध्यादेश ल्याएको छ । मुलुकी अपराध संहितामा एसिड छ्याप्नेविरुद्ध कारबाहीको व्यवस्था रहे पनि अपर्याप्त भएको भन्दै संशोधनसहित कडा सजाय तोकेर नयाँ कानुन ल्याइको हो ।

पौडेल समूहले सभापति देउवालाई दियो एक हप्ते अल्टिमेटम
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई एक हप्ते अल्टिमेटम दिएको छ ।

कांग्रेसले आगामी १९ गते पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । उक्त बैठकभन्दा अगाडि आफ्नो असन्तुष्टि सम्बोधन नगरे विरोध कार्यक्रम शुरु गर्ने पौडेल समूहले चेतावनी दिएको छ ।

पौडेल समूहले महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित ज्ञापनपत्र पार्टी कार्यालयमा दर्ता गरेको छ ।

पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता बाँड्न नहुनेलगायतका मुद्दा उठाउँदै आएको छ ।

महिला सांसदहरुको माग : ‘बलात्कारीलाई मृत्युदण्ड दिऔं’
महिला सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग अघि सारेका छन् ।
बलात्कारीलाई कडाभन्दा कडा सजायको माग गर्दै संगठित भएका महिला सांसदहरुले यस्तो माग अघि सारेका हुन् ।

उनीहरुले संविधानमै संशोधन गरी १६ वर्षभन्दा मूनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरेका हुन् ।
भेलाले सत्तारुढ दल नेकपाकी सांसद बृन्दा पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेको छ ।

समितिमा नेकपाकै शान्ता चौधरी, नेपाली कांग्रेसकी पुष्षा भुसाल, जसपाकी प्रमिलाकुमारी यादब, नेकपाकी निरुदेवी पाल, नेकपाकै पार्वती थापा र नेपाली कांग्रेसकी लक्ष्मी परियार छन् ।

बजार मूल्यभन्दा १० प्रतिशत सस्तोमा सरकारले सहुलियत पसल सञ्चालन गर्ने, खसीबोका र च्याङ्ग्रा भने २० प्रतिशत सस्तो
सरकारले बजार मूल्यभन्दा १० प्रतिशत सस्तोमा खाद्यान बिक्री गर्ने भएको छ ।

दशैंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् ।

यस वर्ष कम्पनीले दशैंमा बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्रा बजार मूल्यभन्दा १५ देखि २० प्रतिशत सस्तोमा बिक्री गर्ने भएको छ ।

कोरोना अपडेट : थप १,३५१ जनामा संक्रमण पुष्टि हुँदा ७४२ जना डिस्चार्ज, ४ को मृत्यु
पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आजको अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल ५४ हजार ६४० जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै कूुल मृतकको संख्या ४८१ पुगेको छ ।

कोरोनाका कारण ८० हजार १६ नेपाली स्वदेश फर्किए
कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन् ।

मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ जना छन् भने सबैभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् । उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र पारिवारिक भेटघाटका सिलसिलामा ती मुलुकमा पुगेका थिए ।

झिनो अंकले घट्यो शेयर बजार
आज शेयर बजार झिनो अंकले घटेको छ । हिजो ४.२९ अंकले बढेको शेयर बजार आज भने ४.७३ अंकले घटेको हो । आज ०.३० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १५६०.८३ अंकमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज १ सय ९१ कम्पनीका ६९ लाख ९७ हजार ४ सय २० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५ सय २५ रुपियाँको कारोबार भएको छ ।

आइपिएल : पन्जाबमाथि राजस्थानको रोमान्चक जित
राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार दोस्रो जित निकालेको छ । राजस्थानले पञ्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको २२४ रनको विशाल लक्ष्य पछाएको राजस्थान रोयल्सले ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
आइपिएलको इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा २ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । खेलमा ४२ बलमा ८५ रन बनाएका राजस्थानका सन्जु सामसन प्लेयर अफ द म्याच बनेका थिए । आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुँदैछ ।

टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेशमा अमेरिकी अदालतको रोक
अमेरिकाका एक न्यायाधीशले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेशमा रोक लगाइदिएका छन् ।

प्रतिबन्ध कार्यान्वयनमा आउनुभन्दा केही समयअघि मात्र वासिङटनको एक जिल्ला अदालतका न्यायाधीशले ट्रम्पको आदेशमा रोक लगाएका हुन् ।

टिकटकमाथिको प्रतिबन्धमा रोक लगाउने आदेश जारी गर्नुको कुनै कारण भने उल्लेख गरिएको छैन । यद्यपि यस विषयमा आगामी दिनमा फैसला गरिने उल्लेख छ ।

अदालतमा सुनुवाइको क्रममा बाइटडान्सका वकिलले अमेरिकाले लगाएको यो प्रतिबन्धलाई तर्कहीन रहेको बताएका थिए । यस विषयमा अहिले पनि वार्ता जारी रहेको अवस्थामा प्रतिबन्ध लगाउनु उचित नरहेको बाइटडान्सले उल्लेख गरेको थियो ।

बाइटडान्सले सन् २०१७ मा टिकटक सार्वजनिक गरेको थियो । विश्वभर टिकटकका ५० करोड प्रयोगकर्ता र अमेरिकामा करिब आठ करोड प्रयोगकर्ता छन् ।

प्रतिक्रिया