कोवाश कलेजले ४ सय विद्यार्थीलाई २ करोड १३ लाखको छात्रावृत्ति दिने

विराटनगर । कोवाश कलेजले कक्षा ११ मा भर्ना भएका चार सय जना विद्यार्थीलाई छात्रावृत्ति दिने भएको छ ।

विराटनगरमा रहेको कोवाश कलेजकाे व्यवस्थापन समितिले भर्ना हुने १ सय जना विद्यार्थीलाई पूर्ण र ३ सय जना विद्यार्थीलाई आंशिक छात्रावृत्ति दिने निर्णय गरेकाे हाे ।

आइतबार पत्रकार सम्मेलन गरि कोभिड १९ संक्रमणकाे महामारीले अभिभावकमा पर्न गएको आर्थिक समस्यालाई मध्येनजर गर्दै भर्ना हुने विद्यार्थीहरूका लागि छात्रावृत्तिकाे घोषणा गरिएको कोवास कलेजका प्रिन्सिपल सुनिल कुमार श्रेष्ठले जानकारी दिए ।

जेहन्दार र आर्थिक अवस्था कमजाेर भएका १ सय विद्यार्थीहरूलाई निःशुल्क अध्यापन गराउने श्रेष्ठले बताए । उनले भने, ‘तीन सय विद्यार्थीहरूलाई आंशिक छात्रावृत्ति प्रदान गरिन्छ ।’ विद्यार्थीहरूलाई दिने पूर्ण र आशिंक छात्रावृत्ति २ करोड १३ लाख १५ हजार बराबरको रहेको छ ।

उक्त कलेजमा विज्ञान र व्यवस्थापन संकाय पढाइ हुँदै आएको छ । भर्ना भएका सबै विद्यार्थीहरूले एसईईमा ल्याएको नतिजा अनुसार छात्रावृत्ति पाउने व्यवस्था रहेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार एसईईमा ३.९० जिपिए ल्याएर उत्तिर्ण भएका ५०/५० जना विद्यार्थीले विज्ञान र व्यवस्थापन संकायमा पूर्ण छात्रावृत्ति पाउनेछन् ।

यस्तै ३.८५ जिपिए ल्याउने विज्ञान संकायतर्फ २५ र व्यवस्थापन तर्फ २५ जना विद्यार्थीले ९० प्रतिशत छात्रावृत्ति पाउनेछन् ।
यसैगरि ३.८० जिपिए ल्याउने ५० जनाले ८० प्रतिशत, ३.७५ जिपिए ल्याउने ५० जनाले ६० प्रतिशत, ३.७० जिपिए ल्याउने ५० विद्यार्थीले ५५ प्रतिशत, ३.६५ जिपिए ल्याउने ५० जनाले ५० प्रतिशत र ३.६० प्रतिशत ल्याउने ५० विद्यार्थीले ४५ प्रतिशत छात्रावृत्ति पाउने कलेजले जनाएको छ ।

कक्षा ११ मा विज्ञान संकाय अध्यापन गर्न ९८ हजार र व्यवस्थापन संकायमा ४९ हजार रुपैयाँ खर्च लाग्छ । प्रिन्सिपल श्रेष्ठका अनुसार १ सय विद्यार्थीलाई पूर्ण छात्रावृत्ति र ३ सय विद्यार्थीहरूलाई आंशिक छात्रावृत्ति २ करोड १३ लाख १५ हजार रुपैयाँ खर्च हुँदा पनि वर्षमा ८० लाख ८५ हजार रुपैयाँ आम्दानी हुन्छ ।

छात्रावृत्ति दिएर आम्दानी भएको ८० लाख ८५ हजार रुपैयाँले शिक्षक, कर्मचार र प्रशासनिक खर्च हुने उनकाे भनाइ छ ।

प्रतिक्रिया