बजार मूल्यभन्दा १० प्रतिशत सस्तोमा सरकारले सहुलियत पसल सञ्चालन गर्ने, खसीबोका र च्याङ्ग्रा भने २० प्रतिशत सस्तो

काठमाडौं । सरकारले बजार मूल्यभन्दा १० प्रतिशत सस्तोमा खाद्यान बिक्री गर्ने भएको छ । दशैंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् ।

यस वर्ष कम्पनीले दशैंमा बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्रा बजार मूल्यभन्दा १५ देखि २० प्रतिशत सस्तोमा बिक्री गर्ने भएको छ ।

दशैंका लागि बजार मूल्यभन्दा २० प्रतिशत सस्तोमा खसीबोका बेच्दै खाद्य, अरु वस्तुमा कति ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र प्रसाद सुवेदीले यो दशैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बस्तु हेरेर ५ देखि १० प्रतिशत सस्तो बिक्री गर्ने बताए ।

खाद्य कम्पनीले काठमाडौं उपत्यकाका पाँच बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत पसल सञ्चालन गरिने सुवेदीले जानकारी दिए ।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा दुई कम्पनीलाई काठमाडौैँ उपत्यकामा पाँच÷पाँच स्थानमा सुपथ मूल्यका पसल सञ्चालनको अनुमति दिइएको छ । सोही अनुमतिका आधारमा दुबै कम्पनीले बिक्री काउन्टरमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ ।

कम्पनीले विगतका वर्षहरुमा झैं यस वर्ष पनि गेडागुडी, चामललगायतका खाद्यान्न शुलभ मूल्यमा बिक्री गर्नेछ ।

प्रतिक्रिया