ओली-दाहाल जुटेको जुट्यै, सहमति बाझेको बाझ्यै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार (आज) पनि भेटवार्ता भएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिमण्डल पुनर्गठनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार छलफल भए पनि कुनै निष्कर्ष भने निस्केको छैन । ओलीदाहालबीच केही दिनदेखि निरन्तर रुपमा भेटवार्ता भए पनि सहमति भने नजुटेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा बताउँछन् ।

मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच जारी नियमित छलफलअन्तर्गत आज पनि भेटवार्ता भएको हो ।

गत बिहीबारदेखि ओलीदाहालबीच नियमित भेटवार्ता भइरहेको छ । यसैबीच प्रधानमन्त्रीसमेत रहेका ओलीले आइतबार (हिजो) आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

यसभन्दा अगाडिको भेटमा अध्यक्षद्वयबीच मन्त्रिमण्डल पुनर्गठनको बारेमा कुराकानी भएपनि हिजोको बैठकमा भने केही नौलो कुरा आएको थिएन ।

यद्यपि पनि सोमबार र बिहीबारको अतिरिक्त आइतबार बोलाइएको बैठकमा केही नयाँ निर्णय हुने अपेक्षा गरिएको थियो ।  यसैबीच प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको तीव्र तयारी गरिरहेका छन् ।

गत ४ असोजमा जनसंगठनको कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने सुझाव दिइसकेकाले अब भने छिट्टै मन्त्रिमण्डल पुनर्गठन हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया