१४ औँ विश्व रेबिज विरुद्ध दिवस : सडकका कुकुरलाई रिफ्लेक्टिभ लाइट बेल्ट

विराटनगर । १४ औँ विश्व रेबिज विरुद्ध दिवसको अवसरमा विराटनगरका स्थानिय युवाहरुले सडकका कुकुरहरुलाई रेबिज विरुद्धको खोप तथा घाँटीमा रिफ्लेक्टिभ लाइट बेल्ट बाँधिदिएका छन् ।

युथ हेण्ड फर भोईसलेस नामक संस्थाको आयोजना र हिन्दु जागरण नेपाल मोरङको सहयोगमा सोमबार एक कार्यक्रमको आयोजना गरी सडकमा रहेका कुकुरहरुलाई रेबिज विरुद्धको खोपका साथै सडक दुर्घटना न्यूनिकरणका लागि कुकुरको घाँटीमा रिफ्लेक्टिभ लाइट बेल्ट बाँधिदिएका हुन् ।

सडकमा बेवारिसे अवस्थामा रहेका कुकुरका कारण सडक दुर्घटनाको सम्भावित जोखिम न्यूनिकरण गर्नका निमित्त कुकुरको घाँटीमा रिफ्लेक्टिभ लाइट बेल्ट बाँधिदिएको युथ हेण्ड फर भोईसलेसका अभियन्ता एलिना प्रसाईंले बताइन् ।

त्यस्तै वडा प्रहरी कार्यालय विराटनगर (क) का प्रमुख प्रहरी नायब उपरीक्षक दिपक कुमार कार्कीले युवाहरुले गरेका काममा प्रहरीको सधैँ साथ रहने बताए । उनले भने, ‘युवाहरुले गरेका यस्ता खालका कार्यहरुले स्वास्थ्य तथा दुर्घटना न्यूनिकरणमा सहयोग पुग्नेछ ।’

त्यस्तै नेपाल भेट प्रदेश नम्बर १ का अध्यक्ष डाक्टर सञ्जय कुमार यादवले २०३० सम्ममा रेबिज रहित नेपाल बनाउने लक्ष्य रहेको बताए । उनले भने, ‘यो कार्यक्रम हामीले गर्नुपर्ने हो, तर युवाहरुले गरेका छन् । उनीहरुलाई सम्पूर्ण संघसंस्थाले साथ दिन जरुरी छ । युवाहरुलाई साथ दिए पक्कै रेबिज रहित नेपाल बनाउन हामी सफल हुन्छौँ ।’

कार्यक्रममा हिन्दु जागरण नेपाल मोरङ महिला विभागकी अध्यक्ष रमा प्रसाईं, कोषाध्यक्ष सीता प्रसाईं, समन्वय समिति संयोजक राजेश मास्के लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया