ला लिगामा बार्सिलोनाको सानदार सुरुवात, अन्सु फातीले गरे दुई गोल

एजेन्सी । स्पेनिस युवा मिडफिल्डर अन्सु फातीको दुई गोल सहयोगमा बार्सिलोनाले नयाँ सिजनको स्पेनिस ला लिगामा सानदार सुरुवात गरेको छ । बार्सिलोनाले घरेलु मैदानमा भिल्लारियलमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो ।

नोउ क्याम्पका आइतबार राति भएको खेलमा बार्सिलोनाको सानदार जितमा युवा स्टार अन्सु फातीले दुई गोल गर्दा कप्तान लियोनेल मेस्सीले एक तथा एक गोल उपहार पाएको थियो । सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो ।

घरेलु मैदानमा खेलको शुरुवात देखि नै भिल्लारियललाई दवावमा राखेको बार्सिलोनाले १५औं मिनेटमा अन्सु फातीको गोलबाट अग्रता लिएको थियो । जोर्डी अल्वाले मिलाईदिएको पासमा अन्सुले पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त प्रहार गोलमा परिणत हुदा भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जोले रोक्ने कुनै अवसर नै पाएनन् ।

१९औं मिनेटमा फातीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनायो । फिलिपे कौटिन्होको पासमा फातीले उत्कृष्ट फिनिस गरेका थिए । २५औं मिनेटमा डिफेन्डर पोउ टोरेसले मेस्सीको प्रहारलाई ब्लक गर्दै बार्सिलोनाको अर्को गोल टारे । लगत्तै २६औं मिनेटमा जोर्डी अल्वाको प्रहारलाई गोलरक्षक एसेन्जोले बचाए ।

३५औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो । मारियो गास्परले फातीलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । ४०औं मिनेटमा सर्जि रोबर्टो र मेस्सीको वान टु वान पासमा रोबर्टोको क्रसलाई फिलिपे कौटिन्होको भली प्रहार भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जोले विफल पारे ।

पहिलो हाफको इन्ज्युरी समयमा पोउ टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भयो । मेस्सीको क्रसलाई क्लियर गर्ने क्रममा टोरेसले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

५६औं मिनेटमा एन्टोइन ग्रिजमनको प्रहारलाई राहुल एल्वियोलले ब्लक गरे । ६३औं मिनेटमा जेरार्ड मोरेनोको प्रहारलाई बार्सिलोनाका गोलरक्षक नेटोले सहजै नियन्त्रणमा लिए । ६६औं मिनेटमा मेस्सीको प्रहारलाई गोलरक्षक एसेन्जोले बचाए ।

८१औं मिनेटमा भिसेन्ट इब्बोराको क्रसमा पर्भिस इस्टुपिनान बाट ताकेफुसा कुवोबाट आएको पासमा मारियो गास्पर चुक्दा भिल्लारियलले अग्रता घटाउने अवसर खेर फाल्यो । ८६औं मिनेटमा ट्रिन्काओको प्रहारमा गोलरक्षक एसेन्जो बिट भएपनि डिफ्लेक्ट भएर आएको बललाई मेस्सीले प्रयास गरेपनि एसेन्जोले उत्कृष्ट बचाउ गरे ।

८८औं मिनेटमा ताकेफुसा कुवोको प्रहारलाई नेटोले बचाउदै बार्सिलोनालाई पहिलो खेलमा सहज जित दिलाए । जितसँगै बार्सिलोनाले ३ अंक जोडेको छ । भिल्लारियलको ३ खेलबाट ४ अंक रहेको छ ।

प्रतिक्रिया