विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १० लाख २ हजार ३८३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ३ करोड ३३ लाख ३ हजार २२६ जना संक्रमित भएका छन् । अहिलेसम्म २ करोड ४६ लाख ३४ हजार १९८ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ९ हजार १५३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७३ लाख २१ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३३ हजार ७८२ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २७६ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ हजार ५७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४० जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७६७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६० लाख ७३ हजार ३४८ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४७ लाख ३२ हजार ३०९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३३५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ४१ हजार ७७६ पुुगेको छ ।

नेपालमा आइतबार देशभर गरी १,५७३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ७३,००० नाघेको छ । नेपालमा अहिलेसम्म ४७७ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५३,८९८ नाघेको छ ।

प्रतिक्रिया