केही दिनमै मन्त्रिपरिषद् पुनर्गठन हुने, को होला नयाँ अर्थमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तीव्र तयारीमा जुटेका छन् । नेकपाभित्रको लामो आन्तरिक किचलो नाटकीय शैलीमा साम्य भएसँगै प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको तीव्र तयारीमा लागेका हुन् ।

निवर्तमान अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएसँगै राष्ट्रिय सभामा नेकपा उपाध्यक्षसमेत रहेका बामदेव गौतमलाई लगिएता पनि उनीविरुद्ध सर्वोच्चमा रिट परेको छ । त्यो मुद्दा अदालतमा ज्यूँका त्यूँ छ ।

यसैबीच यता प्रधानमन्त्री अ‍ोलीले भने पुनर्गठनको तयारी तीव्र पारेका छन् । प्रधानमन्त्री ओलीले सोमबार र बिहीबार बस्ने गरिएको बैठक आइतबार (आज)का लागि बोलाएका छन् ।

हाल अर्थ, सूचना तथा संचार प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री छैनन् । खाली रहेको मन्त्रालयतसहित केही मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्नका लागि प्रचण्ड र ओलीबीच निरन्तर छलफल भइनै रहेको छ ।

पार्टीभित्रको विवाद समाधान गर्न र धेरै पटक चुनाव जितेकाहरुलाई नयाँ मन्त्रीको रुपमा ल्याउने तयारी भइरहेको नेकपा स्रोतले बताएको छ । मन्त्रिपरिषद् पुनर्गठनका लागि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच सहमति भइसकेको स्रोत बताउँछ ।

प्रधानमन्त्री र प्रचण्डबीच कसलाई नयाँ मन्त्रीको रुपमा ल्याउने र कसलाई हटाउने भनेर सहमति नजिक पगिसकेको छन् ।
कोरोनाले थलिएको अर्थतन्त्रमाथि उठाउनका लागि कसलाई अर्थमन्त्री बनाउने भनेर चर्चा सुरु भएको छ । नेताले आ–आफ्नो गुटकालाई अर्थमन्त्री बनाउन लागि परेका छन् ।

नेकपाभित्रको विवाद समाधानको लागि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठिन कार्यदलमा ६ सदस्य थिए । यसमा २ जना प्रधानमन्त्री तथा नेकपा आध्यक्ष ओली गुटका, २ जना अर्का अध्यक्ष प्रचण्ड गुटका र २ जना वरिष्ठ नेता नेपाल गुटका नेता थिए । उक्त समितिले पनि मन्त्रिपरिषद् पुर्नगठन गर्न सुझाव दिएको थियो ।

को को छन् मन्त्रीको दौडमा ?
मन्त्रिमण्डल पुनर्गठन हुने भएपछि मन्त्रीका आकांक्षीहरु शिर्ष नेतासँगको निरन्तर लबिङ्गमा छन् । पहिलेदेखि नै पुर्नगठको चर्चा भएको थियो । नयाँ मन्त्रीमा दौडामा सुरेन्द्र पाण्डे, महेश बस्नेत, भीम रावल, यज्ञराज सुनुवार, जनार्दन शर्मा, टोप बहादुर रायमाझी, गणेश पहाडी, देवेन्द्र पौडेल, पम्फा भुषाल र कृष्णप्रसाद दाहाल मन्त्रीको दौडमा रहेका छन् । कृष्णप्रसाद दाहाल संसदीय समितिबाट मन्त्री बन्ने चर्चामा छन् ।

को को हुन हट्ने मन्त्री ?
स्रोतका अनुसार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री बिना मगर, ऊर्जामन्त्री वर्षमान पुन, श्रममन्त्री रामेश्वर राय यादव, वनमन्त्री शक्ति बस्नेत, खेलकुदमन्त्री जगत विश्वकर्मा, उद्योगमन्त्री लेखराज भट्ट र गरिबी निवारणमन्त्री पद्मा अर्याल पनि घर फर्कने मन्त्रीहरुको सूचीमा छन् ।

प्रतिक्रिया