‘उपसभामुख पद रिक्त हुँदा कांग्रेस किन मौन ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दाबी गर्ने प्रतिनिधिसभाको उपसभामुख नियुक्ति प्रक्रिया अहिलेसम्म अगाडी बढ्न सकेको छैन ।

तत्कालिन उपसभामुख तुम्बाहाङ्फेले माघ ६ गते पदबाट राजीनामा दिएकी थिइन् । अहिले उनी कानून, न्याय तथा संसदीय मामलामन्त्री रहेकी छन् । तर, उनको स्थानमा आठ महिना यता उपसभामुख चयन गर्न सकिएको छैन । यस मामलामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नै कमजोर देखिएको छ ।

सभामुख कृष्णबहादुर महराको बर्हिगमनसँगै सत्तारुढ दलले अग्निप्रसाद सापकोटालाई सभामुख चयन गरेको थियो । तर, संविधानमा सभामुख र उपसभामुख फरक-फरक पार्टीको हुनुपर्ने व्यवस्था अनुरुप नेपाली कांग्रेसको भागमा आएको उपसभामुख चयन गर्न नसक्नु पार्टी नेतृत्वको कमजोरी देखिएको छ ।

उपसभामुखमा कांग्रेसको दाबेदारी भएपनि पार्टी नेतृत्वले चासो नदिएको कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन् । उनले बरु कांग्रेस विभिन्न संवैधानिक निकायहरुको भागबन्डामा रुमलिएको बताएका छन् ।

‘कांग्रेसले विभिन्न संवैधानिक आयोगहरूमा भागबन्डा खोज्नुभन्दा संवैधानिक परिषदको (उपसभामुख निर्वाचन) पूर्णतामा दवाव दिनुपर्ने होइन र ?’ डा. कोइरालाले आज ट्विट गर्दै भनेका छन् । उनले ‘उपसभामुखको पद यति लामो समयसम्म रिक्त रहँदा प्रतिपक्ष, बुद्धिजीविहरू र कानून व्यवसायी किन मौन ?’ भन्दै प्रश्न पनि गरेका छन् ।

प्रतिक्रिया