कम्युनिष्टहरुले मुलुकलाई धराशायी बनाए, अब वैकल्पिक शक्तिको आवश्यकता छ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट सरकारले देशलाई धराशायी बनाउँदै लगेको बताएका छन् । शनिवार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले कम्युनिष्ट पार्टीको सरकारले देशलाई धराशायी बनाउँदै लगेको बताएका हुन् ।

उनले कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिक र राजनीतिक रूपमा धराशायी बनाएको बताएका छन् । ‘कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरूमा कम्युनिष्टहरुले मुलुकलाई धराशायी पारे र आफू पनि त्यसरी नै धराशायी भए । अहिले त्यही बाटोमा नेपाल पनि छ । भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ । यतिका काण्ड त पञ्चायती समयमा पनि भएका थिएनन् होला’ उनले भने ।

उनले वर्तमान सरकार र कम्युनिष्ट पार्टीबाट मुलुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए । उनले जनतालाई सरकारले वास्ता नगरेकोसमेत बताए । ‘जनता उपचार र खाना नपाएर मरिरहेको भएपनि सरकारले कुनै वास्ता गरेको छैन, उनले भने, ‘देशमा वैकल्पिक शक्तिको आवश्यकता छ ।’

समाजवाद, संघीयता र लोकतन्त्रको बाटोमा हिँड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया