मौद्रिक नीतिबारे होटल व्यवसायीहरुको छलफल

धरान । सरकारले ल्याएको आर्थिक नीति र नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट होटल व्यवसायीहरुले के–कस्तो लाभ लिन सक्छन् भन्ने विषयमा धरानमा एक अनुशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कोभिड १९ पश्चात् व्यवसायमा परेको दुष्प्रभावबाट उठ्न ती नीतिहरु कतिको सहयोगी र व्यवसायमैत्री छन् एवं यसबाट कत्तिको राहत हुन सक्छ भन्ने विषयमा छलफल केन्द्रित भएको छ ।

होटल व्यवसायी समिति धरानले आफ्ना सदस्यहरुका लागि आयोजना गरेको छलफलमा बैंकबाट ऋण लिएर व्यवसाय गरेका व्यवसायीहरुलाई परेको मार्का र त्यसबाट सहजता पाउने विषय उठान भएको थियो । प्राइम कमर्सियल बैंकका प्रदेश नं. १ का प्रमुख दिमन श्रेष्ठले व्यवसायीका हितमा राष्ट्र बैंकले ल्याएका पुनर्कर्जा, कर्जा समायोजन, व्याज अनुदान, बिना धितो पाइने कर्जा आदिका विषयमा जानकारी गराएका थिए ।

उनले राष्ट्र बैंकको नीतिअनुसार सबै बित्तिय संस्थाहरुले एउटै नियमअनुसार कार्य गर्नुपर्ने बताए । बैंकहरुले आफू खुसी थप ऋण निकाशा गरेर बैंकको ऋण र व्याज असुल गर्नु कानुनतः सही हुन नसक्ने बताएका थिए । बैंकले जहिले पनि ऋणीको अवस्था राम्रो होस् भन्ने नै सोच्ने भएकोले आफूलाई परेको समस्याका बारेमा आफूले कारोबार गरेको बैंकसँग छलफल गर्न आग्रह गरेका थिए ।

समितिका अध्यक्ष मनोजकुमार मेन्याङ्बोले विश्व पर्यटन दिवसको अवसर पारेर स्थानीय पर्यटन व्यवसायीको आर्थिक हितका लागि यो कार्यक्रम गरेको बताएका थिए ।

प्रतिक्रिया