सृजनशिल बाल सेवा परिवारलाई जुडो म्याट सहयोग

काठमाडौं । अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट शनिबार सहयोग स्वरुप प्रदान गरिएको छ ।

फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा सृजनशिलमा रहेका जुडो खेलाडीका लागि म्याट प्रदान गरिएको हो ।

सहयोगका लागि किवानिस इन्टरनेसनल नेपाल डिस्ट्रिक्ट के ६९ को सहकार्यमा अस्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली राष्ट्रिय जुडो खेलाडीले मोहन बमले पहल गरेका थिए ।

गत नोभेम्बरमा नेपाल भ्रमणमा आएको बेला लाउरेन्टसहितको टोलीले सृजनशिल हातामा रहेको जुडो हल र खेलाडीका बारेमा जानकारी लिएका थिए ।

सोही अवसरमा म्याट खरिदबाट बचेको रकमबाट सृजनशिलमा आश्रितका लागि खाद्यान्न सामाग्री पनि प्रदान गरिएको थियो ।
करिब १ लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराइएको किवानिस क्लब अफ एभरेष्टका संस्थापक अध्यक्ष दामोदर ढकालले जनाएका छन् ।

ढकालको पहलमा विगत ३ वर्षदेखि सृजनशिललाई वार्षिक ५ लाख रुपैयाँ पनि सहयोग गर्दै आएको कार्यक्रममा जानकारी दिइयो ।

किवानिस नेपाल डिस्ट्रिक्टका लागि सन् २०२०–२१ का गभर्नर इलेक्ट एकराज पन्त, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले सृजनशिलकी सञ्चालिका उमादेवी बस्नेतलाई म्याट र खाद्यान्न एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

काँडाघारीस्थित सृजनशिल हातामा जुडो हल पनि निर्माण गरिएको छ । हाल त्यहाँ १० जना खेलाडीलाई जुडो प्रशिक्षक उत्तमप्रताप राणाले प्रशिक्षण दिइरहेका छन् ।

सम्मानित साग स्वर्ण विजेता देविका खड्का र पुनम श्रेष्ठ ।

कार्यक्रममा पन्तले विभिन्न जिल्लामा रहेको अनाथलयका जुडो खेलाडीका लागि किवानिसले सक्दो सहयोग गर्दै आइरहेको र भावी दिन पनि सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।

जुडो संघका अध्यक्ष वज्राचार्यले विभिन्न अनाथलयमा रहेका जुडो खेलाडीले राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने कार्यमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको बताए । अध्यक्ष वज्राचार्यले विभिन्न अनाथलय सञ्चालन गरिरहेका संघ संस्थाले जुडो खेल प्रति देखाएको लगावको प्रशंसा गर्दै जुडो खेलको विकासमा गरेको योगदानका लागि धन्यवाद दिए । सञ्चालिका बस्नेतले सहयोगका लागि सम्पूर्ण टोलीलाई धन्यवाद दिदै यस्ता सहयोगले खेलाडीका साथै सञ्चालकको मनोबल उच्च पार्न सहयोग पुर्याएको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत जुडोका स्वर्ण पदक विजेताद्वय पुनम श्रेष्ठ र देविका खड्कालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमका दौरान सृजनशिलका जुडो खेलाडीले प्रदर्शनी खेल समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया