चितवन राष्ट्रिय निकुञ्ज खुल्यो, सौराहाका व्यवसायी उत्साहित

चितवन । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि चैतदेखि बन्द भएको चितवन राष्ट्रिय निकुञ्ज खुलेको छ ।

नेपालमा पनि संक्रमण देखिएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनपछि बन्द भएको निकुञ्ज पुनः खुलेको हो ।

अवस्था विस्तारै सहज बनाउन सरकारले खुकुलो बनाएको बन्दाबन्दीपछि असोज ७ गते देखि निकुञ्ज खुलेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वाडेन) अणनाथ बरालले जानकारी दिए । यद्यपि स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने उनको भनाइ छ ।

विश्वमा नै चितवन निकुञ्ज वन्यजन्तु अवलोकनका लागि प्रख्यात छ । बरालका अनुसार पर्यटकीय गतिविधि पनि खुल्ला गरिएको छ । जिप सफारीका लागि बाटो मर्मतको काम भइरहेकाले केही दिनमा संचालन हुनेछ भने अन्य गतिविधि खुल्ला गरिएको छ ।

योसँगै पर्यटकहरुले मौसमअनुसार निकुञ्जभित्रको मज्जा लिन पाउनेछन् । निकुञ्जमा जिप सफारीसँगै जंगल पैदल, चरा अवलोकन, डुङ्गा सयरलगायतका गतिविधि हुँदै आएको छ ।

सधैंभरी बन्द गर्ने अवस्था छैन प्रमुख संरक्षण अधिकृत बरालले भने–‘स्वास्थ्य मापदण्ड पालना गरेर मौसमलाई हेरेर निकुञ्ज खुल्ला भएको छ । सहज अवस्थामा चितवन निकुञ्जमा वार्षिक करिब २ लाख पर्यटक निकुञ्ज घुम्न आउने गरेका छन् । निकुञ्ज खुलेको सन्देश गएपछि अब पर्यटनहरु आउन शुरु हुने सौराहाका व्यवसायिक बुझाइ छ ।’

तत्काल बाहिरी पर्यटक आउने संभावना नरहे पनि आन्तरिक पर्यटक आउनेमा क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले बताए । निषेधाज्ञा खुकुलो भएसँगै सौराहामा फाट्टफुट्ट रुपमा पर्यटक आउन शुरु गरेका छन् ।

सौराहाको मुख्य आम्दानीको श्रोत निकुञ्ज हो । यहाँ घुम्न आएका पर्यटकहरु दुई रात तीन दिन सम्म बस्ने गरेका छन् । निकुञ्ज खुल्नुअघि फाट्टफुट्ट पर्यटक आए पनि अब अवस्था सहज बन्दै गएकाले पर्यटकको संख्यामा वृद्धि हुँदै जाने संघका अध्यक्ष भट्टराईले बताए ।

सौराहामा ११० भन्दा बढी होटल तथा ७० वटाको हाराहारीमा रेष्टुराँ छन् ।

बाघमारा बनमा पर्यटकीय गतिविधि शुरु
पर्यटनलाई आम्दानीको मुख्य स्रोत बनाएको बाघमारा मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी र डुङ्गा सयर खुल्ला गरिएको छ ।

कोरोना महामारीका कारण चैत ११ गतेबाट बन्द भएको पर्यटकीय गतिविधि भदौ ७ गतेबाट औपचारिक रुपमा शुरु गरिएको हो । सरकारले भदौ १ गतेबाट सौराहाको पर्यटन खुल्ला गरेपछि बाघमारा वनले हात्ती सफारी र डुङ्गा सयर खुल्ला गरेको हो ।

सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुले हात्तीमार्फत् सो सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडालगायत वन्यजन्तुको अवलोकन गर्ने गर्दछन् ।

गोही र चराचुरूङ्गीको अवलोकनका लागि डुङ्गा सयर हुने गरेको छ । सो सामुदायिक वन भएर बग्ने बूढीराप्ती नदीमा पर्यटकका लागि १६ वटा डुङ्गा सञ्चालन गरिएको छ ।

सौराहा आउने अघिकांश पर्यटकहरुले सो सामुदायिक वनमा हात्ती सफारी र डुङ्गा सयर गर्दैै आएको वनका अध्यक्ष जीतु तामाङले बताए । बाघमारामा हात्ती सफारी र डुङ्गा सयर खुल्ला भएपछि सौराहा आएका पर्यटकहरु हात्ती सफारी गर्न थालेका छन् ।

प्रत्येक दिन एक–दुई टिप सफारी भएको वनका अध्यक्ष तामाङले बताए । कोरोना महामारी कायम रहेका कारण हात्ती सफारी र डुङ्गा सयरमा सुरक्षाका उपायहरुलाई अनिवार्य गरिएको छ ।

हत्ती सयर गराएर वार्षिक तीन करोड आम्दानी गर्दै आएको सो सामुदायिक वनमा कोरोनाको असरका कारण पछिल्लो ६ महिना आम्दानी शून्यमा झरेको थियो ।

पर्यापर्यटन सुचारू भएपछि आम्दानी हुन सुरू भएको अध्यक्ष तामाङले बताए । ६ महिना आम्दानी रोकिएपछि सामुदायिक विकास र वन संरक्षणको काममा असर पुगेको छ ।

आम्दानीको अधिकांश हिस्सा संरक्षण, सामुदायिक विकास, गरिबी निवारण, शिक्षामा खर्च गर्दै आएको छ ।

प्रतिक्रिया