शनिबार कथाः पोखरी

  • अमिर मगर 

रात ढल्दै गर्दा एउटा अधबैँसे मान्छे मेरो ढोका अघि उभिएको हुन्छ । म ऊ तर्फ बढ्दै जाँदा मेरो मस्तिस्कमा एउटा पुरानो तस्बिर जीवन्त भएर आउछ… माँझी काका !

“अरे माँझी काका ? कसरी यहाँ ?” म बोल्दा बोल्दै अलमलिन्छु । माँझी काका त रूकुमका हुन् । हाम्रो दौतरी मेरो बाल्यकालको । म तेह्र वर्ष लाग्दा नलाग्दै हामी बसाईं सरेर देशको अर्को कुना ईलाम पुगेका । माँझी काका वर्षौ पछि यसरी यहाँ मेरो आगनमा आउनु एकदमै अकल्पनीय संयोग थियो । त्यस माथि उनी अहिलेसम्म उहि उमेरमा, समयचक्रलाई रोकेर, प्रकृतिको नियम नै उलंधन गरेर रहिरहनु सरासर असम्भव थियो ।

“म तिमीले भनेको मान्छे होईन ।” उनी बोल्छन् र यसै खोक्न थाल्छन् ।

म स्तम्भित हुन्छु । म अझै पनि, उनलाई नजिकबाट घोरिएर अवलोकन गर्दै गर्दा, विश्वस्त हुन्छु कि उनी त्यहि मेरो पुरानो स्मृतिकै परिचित पात्र हुन् । तर उनी अझै यो कुरा अस्विकार नै गर्छन् ।

“म एउटा कवि मात्र हुँ । म आज मर्दैछु । मेरो प्राण जानु अघि म एउटा कविता लेख्न चाहन्छु । कृपया मलाई एउटा कलम, पाना र टुकी बत्ती देऊ ।”

अचानकसँग मेरा आँखा अघि उनको केश बिस्तारै सेताम्य हुँदै जान्छ, अनुहार चाउरिदै जान्छ, काँध कुप्रन्छ, शरीर निर्धो देखिन्छ….

होईन, यी माँझी काका होईनन् ।

बुढो कवि रातभर मेचमा बसेर टेबुलमा कुहिना, माथामा हात, औलाहरू बीच कलम, दृष्टिमा कापीको पाना र पानामा अनन्त हेर्दै निसासिएका स्वाँस फेरिरहन्छन् । छेउको टुकी हावाको लहरसँसँगै लहराउदै पातलो राप दिँदै उनको अँध्यारो आकृतिलाई मन्द प्रकाश दिईरहन्छ । म बेला बखतमा त्यस कोठा भित्र छिर्दै कुनामा चुपचाप बसेर उनलाई निहारीरहन्छु ।

“मलाई एक गिलास रक्सी दिन सक्छौँ?”

उनी एक घुटमै गिलास रित्याउछन् ।

“एउटा चुरोट देऊ त !”

म पर झ्याल नजिक बसेर चुरोट तानिरहेको हुन्छु, बुढो कवि देब्रे हातमा धुवाँ र दाहिने हातमा कलम समातिरहेका हुन्छन् ।

अर्को पेग रक्सी थप्दा मलाई उनको हात स्पर्श हुन्छ । एकदम तातिएको । म मेरो हातले उनको निधारको ताप नाप्छु ।

“तपाईंलाई ज्वरों आएको छ बेसरी । अहिले आराम गर्नुहोस् । भोली पनि बस्नुहोला मेरोमास जबसम्म कविता फुर्दैन । म सिटामोल लिएर आउँछु ।”

“मैले तिमीलाई भनिसके म आज मर्दैछु । बरू तिमी आराम गर । मलाई एक्लै छोडिदेऊ । एउटा चुरोट बरू दिएर जाऊ !”

म आफ्नो कोठामा गएर बिस्तरामा पल्टन्छु । मलाई याद हुन्छ कि टुकीको मत्तितेल सकिसकेको थियो । तर मलाई फेरी त्यो कोठामा फर्कन मन हुदैन ।

त्यस पछि मलाई थाहा छैन म निद्रामा थिएँ या अर्ध निद्रामा । सपना र वास्तविकता म छुट्याउन असमर्थ हुन्छु । लाग्छ सायद मेरो सम्पूर्ण जीवन नै एउटा बेतुका सपना हो ।

केही बेर पल्लो कोठामा मधुरो प्रकाश बलिरहन्छ । अनि बुँझ्छ । म एउटा सानो चित्कार सुन्छु । केहिबेर बुढो कवि रोएको मलिन आवाज अन्धकारमा गुन्जायमान हुन्छ । अनि धप्प उज्यालो हुन्छ । मानों बुढो कविको रोदनले बिहानी भईदियो ।

म त्यस कोठामा जाँदा बुढो कविको लाश मेचमा सुतिरहेको हुन्छ । मेरो दृष्टि हतारिएर उनको अन्तिम कविता खोज्छ । दुर्भाग्यवश पाना नितान्त खाली हुन्छ । सायद उनको कलमले पानाको सतहको स्पर्श समेत पाएन । एस्ट्रेमा दुई चुरोटका ठूटा निमोठिएका हुन्छन् । म अन्त्यमा छेउको टुकीलाई नियाल्छु । मत्तितेल भरि छ तर गन्ध असाधारण । म टुकीको बिर्को खोल्छु, मेरो हातमा थोरै तरल लतपतिन्छ…बुढो कविको रगत…

मलाई थाहा छैन त्यसपछि कति काल बित्यो । मेरो होश आउँदा म त्यहि नै उभिईरहेको थिएँ र मेरो औँलाको रगत सुकिसकेको थियो । रात अझै गुज्रिएको थिएन अनि बुढो कविको लाश एकाएक गायब थियो । टुकी टेबुलमा बलिनै रहेको थियो । र, मलाई आफु अचानक बुढो भएको महसूस हुँदै थियो ।

प्रतिक्रिया