चिनियाँ कम्पनी भन्छ- कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछ

  • साम म्याकनिल

बेइजिङ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ ।

सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) समक्ष आवेदन दिइने बताए । यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिए ।

‘शुरुमा हाम्रो रणनीति चीन र वुहानका लागि डिजाइन गरिएको थियो । तर, जुन र जुलाईमा हामीले हाम्रो रणनीतिमा परिमार्जन गर्याैँ । हामीले यो भ्याक्सिन विश्वमै आवश्यक भइसकेको बुझ्याैँ,’ यीनले भने । उनले चिनियाँ शहरमा भाइरस पहिलोपटक देखा परेको पनि स्पष्ट पारे ।

‘हाम्रो लक्ष्य अमेरिका, युरोपेली संघ र अन्य मुलुक लगायत विश्वलाई खोप प्रदान गर्नु हो,’ यीनले भने ।

अमेरिका, युरोपेली युनियन, जापान र अष्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुन सकेका छैनन् । तर यीन वेडोङ्को भनाईमा यस पटक चिनियाँ खोपले विश्वास जित्नेछ ।

चीनमा सरकारी स्वामित्वको समेत चारवटा कम्पनीले कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेका छन् जसमा सिनोभ्याक पनि एउटा हो । सरकारी स्वामित्वको सिनोफार्मले दुई किसिमका खोपमाथि परीक्षण गरिरहेको छ भने सैनिक स्वामित्वको क्यानसिनोले पनि खोप निर्माण गरिरहेको छ ।

यीनले भने, ‘कोरोनाभ्याक खोपको परीक्षणमा ब्राजिल, टर्की र इन्डोनेसियाका २४ हजार व्यक्ति सहभागी छन् । यसबाहेक बंगलादेश र सम्भवत चिलीमा पनि यस खोपको परीक्षण गरिनेछ ।’ सिनोभ्याकले धेरै संक्रमित भएका, ठूलो जनसंख्या रहेका तथा अनुसन्धान र विकासको क्षमता सीमित रहेका मुलुकहरु छनौट गरेको जनाएको छ ।

उनी बेइजिङको दक्षिणमा रहेको सिनोभ्याक प्लान्टको भ्रमणका क्रममा पत्रकारहरूसँग बोल्दै हुनुहुन्थ्यो । यो प्लान्टमा एक वर्षमा पाँच लाख खोप उत्पादन हुन सक्दछ । जैव–सुरक्षित सुविधा सहितको यस प्लान्टमा खोपको डोज साना बोतलमा भर्ने र तिनीहरूलाई बाकसमा राख्ने काम जारी थियो । कम्पनीले आगामी वर्ष सन् २०२१ को फेब्रुअरी वा मार्चसम्ममा एक करोडसम्म खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।

सिनोभ्याकले जोखिममा रहेका बच्चा र बुढाबुढीका लागि कोरोनाभ्याकको सानो खुराक पनि परीक्षण गर्न थालेको छ ।

यीनले कम्पनीले कोरोनाभ्याकको मानव परीक्षण चलाउने देशहरूमा पहिलो चरणमा खोप वितरण गर्ने बताए ।

खोपको स्वीकृत मापदण्ड बमोजिम कोरोनाभ्याक खोपको अझै तेस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न नभए पनि सिनोभ्याकले चीनमा हजारौं मानिसलाई आपतकालीन प्रयोग प्रावधान अन्तर्गत सम्मिलित गरिसकेको छ ।

यीनले आफू सहित अनुसन्धाताहरुले एक महिना अघि प्रायोगिक खोप लिइसकेको बताए । ‘मानव परीक्षणको पहिलो र दोस्रो चरणमा कुनै गम्भीर प्रतिकूल प्रभाव देखाएनन्,’ उनले भने, ‘यो हाम्रो कम्पनीको परम्परा हो ।’ आफूले हेपाटाइटिस खोप विकासको क्रममा यस्तै गरेको पनि पनि उनले जानकारी दिए ।

यस वर्षको सुरुमा, चीनले जोखिमयुक्त जनसंख्याका लागि खोप लगाउन अनुमति दिएको थियो जसमा एक हजारभन्दा बढी स्वास्थ्यकर्मी र सीमा रक्षकहरु सामेल थिए । सिनोभ्याकले सिनोफर्म र क्यानसिनोसँगै गत जुनमा अनुमति प्राप्त गरेको थियो । बेइजिङ महानगरलाई दशौं हजार कोरोनाभ्याकको डोज उपलब्ध गराइएको पनि यीनले बताए ।

सिनोभ्याकमा कार्यरत ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई कोरोनाभ्याक दिइएको कम्पनीले जनाएको छ । ‘हामी विश्वस्त छौं कि कोभिड–१९ भ्याक्सिन सम्बन्धी हाम्रो अनुसन्धानले अमेरिका र युरोपेली मुलुकहरुका मापदण्ड पूरा गर्न सक्षम हुनेछ,’ यीन वेडोङ्ले बताए । (रासस–एपी)

प्रतिक्रिया