सरकारलाई मानवअधिकार आयोगले भन्यो : ‘डा. केसीसँग भएका सम्झौता कार्यान्वयनको स्थिति सार्वजनिक गर’

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेको छ ।

शुक्रवार विज्ञप्ति जारी गर्दै आयोगले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर पटक-पटक अनशन बन्दै आएका डा. केसीसँग भएका सम्झौता कार्यान्वयनको स्थिति सार्वजनिक गर्न माग गर्दै जीवनरक्षा गर्नसमेत आग्रह गरेको हो ।

आयोगका सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा डा. केसीले चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका उल्लेख छ ।

डा. केसीसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको आयोगले आपसी विमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न पनि भनेको छ ।

चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर गत २९ भदौदेखि जुम्लाबाट आमरण अनशन शुरु गरेका डा. केसी अहिले काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा छन् ।

केसीको जीवन रक्षाको लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघलगायत विभिन्न संघ संस्थाहरुले आयोगमा ज्ञापन पत्र पेश गरिसकेको अयोगले जनाएको छ ।

 

प्रतिक्रिया