सेभियालाई हराउँदै बायर्नले हात पार्‍यो सुपर कप उपाधि

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले सिजनको पहिलो उपाधिको रुपमा युइएफए सुपर कपको उपाधि जितेको छ । युरोपा लिग विजेता सेभियामाथि संघर्षपूर्ण जीत निकाल्दै च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले यूईएफए सुपरकपको उपाधिमाथि कब्जा जमाएको हो ।

पहिलो पटक फ्यानहरुलाई मैदान प्रवेश गर्ने अनुमति दिइएको युरोपन खेलमा १५, १८० दर्शकसामु बायर्नले २–१ को जीत हासिल गर्न सफल रह्यो ।युइएफए सुपरकप च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच हरेक बर्ष खेलिने गर्दछ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट १-१ गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो । बायर्नका लागि खेलको १०४ मिनेटमा जाभी मार्टिनजले निर्णायक गोल गरेका थिए । योसँगै बायर्नले दोस्रो पटक सुपर कप जितेको छ । यस अघि २०१३ मा बायर्नले यो उपाधि जितेको थियो ।

प्रतिक्रिया