अहिलेका ‘पञ्च’ सामुदायिक आतंकका प्रतीक हुन् : सरिता गिरी

काठमाडौं । पूर्वमन्त्री सरिता गिरीले न्यायका नाममा पञ्चहरुको आदेशले कानुनी शासनलाई चुनौती दिएको टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पूर्व सांसद समेत रहेकी गिरीले पञ्चायतीले न्यायको नाममा कानुनी शासनलाई चुनौती दिएको बताएकी हुन् ।

गत भदौं ३० गते सप्तरीको डाक्नेश्वरमा बलात्कारको सिकार भएकी एक किशोरीले न्यायका लागि प्रहरीमा जान खोज्दा पञ्चले रोक लगाएपछि मृत्युको बाटो रोजेकी थिइन् । सोही घटनाको विषयमा गिरीले अहिलेका पञ्चहरु सामुदायिक आतंकका प्रतीक भएका बताइन् ।

सामन्ती प्रथालाई पञ्चहरुले स्वघोषित रुपमा पुनर्जीवन दिएको उनको तर्क छ । ‘सामन्ती प्रथालाई स्वघोषित पञ्चहरुले पुनर्जीवन दिँदैछन्, समुदायको हितको नाममा पञ्चायतीले मानिसको व्यक्तिगत स्वतन्त्रताको हनन् गर्दैछन्,’ उनले भनिन्- ‘अहिलेका पञ्चहरु सामुदायिक आतंकका प्रतीक हुन् ।’

मधेशमा विद्यमान सामाजिक कुरितीहरुलाई मलजल दिने काम पञ्चहरुबाटै भइरहेको उनको आरोप छ । अहिले स्थानीय सरकारमा न्यायिक समिति हुँदाहुँदै पनि पञ्चहरुको आदेश चल्छ भने त्यसमा राज्य र प्रहरीमा उत्तिकै दोषी ठहरिने पूर्वमन्त्री गिरीका तर्क छ ।

‘अपराध मौलाउनुको कारण प्रहरी प्रशासन र स्थानीय सरकारको असक्षमता दुवै जिम्मेवार छ,’ गिरीले भनिन्- ‘म धेरै वर्षदेखि महसुश गर्दै आएको छु, प्रहरी कानूनको शासनको रक्षा नगरी मेलमिलापको काम गर्दै आएको छ ।’

प्रहरी र राजनीतिक दलको मिलेमातोमा नै घटनाहरु साम्य हुने गरेको भन्दै उनले यस्ता घटनाले प्रहरीको काममाथि नै प्रश्न उठेको बताइन् । ‘राजनीतक दलका नेताहरुको उपस्थिति प्रहरी कार्यालयमा जहिले पनि हुन्छ र भन्न सकिन्छ कि प्रहरी कार्यालय आफू जिम्मा नलिई मेलमिलापको कार्यका लागि पञ्च परम्परालाई पुनर्जीवन दिइरहेको छ’ गिरीले भनिन् ।

राजनीतिक दलले पनि यस्ता घटना र परम्परालाई प्रसय दिइरहेको उनको आरोप छ । ‘चुनावमा जानेका लागि चुनावमा जानेहरुका लागि यो काम लोकपिय हुँदैन,’ गिरी भन्छिन्- ‘किन भने उसले आफनो समर्थकहरु गुमाउने भय हुन्छ । यो समस्या अत्यन्त गम्भीर छ र यसबारे गहिरो चिन्तनको आवश्यकता छ ।’

https://www.facebook.com/100000611311659/posts/3658551340841874/

प्रतिक्रिया