वालिङ पहिरो अपडेट : एकै परिवारका ९ सहित १० जनाको मृत्यु

काठमाडौं । आज (बिहीबार) बिहान स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादि र कालिगण्डकीमा गाउँपालिका–४ मा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

बिहान २:५० बजेको समयमा कालिगण्डकी–४ गौतमडाँडा स्थित बाबुराम दमाई र जगत ब. दमाईको घर माथिबाट पहिरो खस्दा दुवै घरमा क्षति पुगेको थियो भने बाबुरामको छोरा विष्णु दमाई मृत फेला परेका थिए ।

यस्तै आजै वालिङ–१४ तमादिमा बिहान ६ बजेको समयमा माया नेपालीको घरमाथि पहिरो खस्दा एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने एक जनाको जिवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय, स्याङजाका प्रजिअ गंगाबहादुर क्षेत्रीले मकालु खबरलाई जानकारी दिए  । जिवितै उद्धार गरिएकी १५ वर्षीया मनिषा नेपालीकाे उपचार चलिरहेकाे प्रजिअ क्षेत्रीकाे भनाइ छ ।

पहिराेमा परी ज्यान गुमाउने ९ जनामा २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली, १४ वर्षीय विक्रम नेपाली, १९ वर्षीया विनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली र ७ महिनाको बच्चाको पनि ज्यान गएको छ ।

प्रतिक्रिया