कांग्रेसले भन्यो– ‘चीनले सीमा मिचेको छैन भनेर भन्नु हतारको टिप्पणी हो’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चीनले हुम्लामा नेपाली भूमि मिचेको छैन भनेर सरकारले दिएको प्रतिक्रियालाई हतारको टिप्पणी भनेको छ ।

हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको खबर आएपछि सरकारले खण्डन गरेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार (आज) विज्ञप्ति जारी गर्दै स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेकोमा पार्टीको ध्यानाकर्षण भएको बताउँदै यस्तो बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन ।”

साथै स्थलगत अध्ययन टोली सदरमुकाम फर्किएपश्चात सीमा मिचिएको ठहर भए चीन सरकारसमक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया