भारतीय संसदमा नेपालसँगको सम्बन्धबारे दह्रो बहस

काठमाडौं । भारतीय संसदमा नेपालसँगको सम्बन्धका बारेमा चर्को बहस भएको छ ।

छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न नसकेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको बेला संसदमा यस्तो विषयले प्रवेश पाएको हो ।

पछिल्लो पटक भारतको छिमेकी नीतिको विषयले त्यहाँको दुवै संसद लोकसभा र राज्य सभामा समेत उच्च प्राथमिकता पाएको छ ।

कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरेर छोटो समयका लागि बोलाइएको संसदमा सांसदहरु उक्त कुराप्रति चर्को गरी प्रस्तुत भएका हुन् ।

मंगलबार राज्यसभाको बैठकमा भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनलाई नेपाल र चीनको बीचमा पछिल्ला वर्षहरुमा भएका व्यापार र वाणिज्य सम्बन्धी सन्धि सम्झौता र त्यसले भारतलाई पार्ने प्रभावबारे निकै कडा प्रश्नहरु गरिएको थियो ।

पछिल्ला केही वर्षयता भारतसँगको निर्भरता घटाउनको नेपालले चीनसँग व्यापार र वाणिज्य लगायतका विषयमा विभिन्न सम्झौता गरेको छ ? भन्ने सांसदहरुको प्रश्नमा भीले ‘नेपाल सरकारले जारी गरेको विज्ञप्ति अनुसार २०१९ को अप्रिल महिनामा भएको नेपालका राष्ट्रपतिको चीन भ्रमणको समयमा पारवहन र यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको छ ।’ भनी भनेका थिए ।

त्यसैगरी अघिल्लो साता पनि भारतको लोकसभामा नेपाल लगायत अन्य छिमेकी मुलुकहरुसँगको सम्वन्धको बारेमा निकै बहस भएको थियो ।

यतिबेला भारतमा प्रधानमन्त्री मोदीको तीव्र आलोचना भइरहेको छ । प्रतिपक्ष इन्डियन नेसनल कंग्रेस, मिडिया र त्यहाँका प्राज्ञिक वर्गले मोदी नेतृत्वको सरकार छिमेक नीतिमा असफल भएको बताइरहेका छन् ।

०७२ सालको महाभूकम्पको बेला पनि पनि नेपाललाई लिएर भारतीय संसदमा ठूलै बहस चलेको थियो ।

प्रतिक्रिया