बार्सिलोनाका सुआरेज एट्लेटिको मड्रिडमा

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसीका खास मित्र उरुग्वेली फरवार्ड लुइस सुआरेज स्पेनिस क्लब एट्लेटिको मड्रिड गएका छन् । बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएमनको नजरमा पर्न नसकेपछि इटालियन क्लब युभेन्टस जाने सोच बनाएका सुआरेज स्पेनिस क्लबमा आबद्ध भएका हुन् ।

बार्सिलोनाका लागि तेस्रो सर्वाधिक गोलकर्ता रहेका सुआरेजले बार्सिलोनामा ६ वर्ष बिताउदा १३ वटा ट्रफी जितेका छन् ।

२०१४ मा लिभरपुलबाट बार्सिलोना आएका सुआरेजले त्यहाँ रहँदा ४ पटक ला लिगा ४ पटक कोपा डेल रे १ च्याम्पियन्स लिग १ युइएफए सुपर कप २ स्पानिस सुपर कप र १ क्लब वर्ल्डकपको उपाधि जितेका छन् । साथै उनले एक पटक सर्वाधिक गोलकर्ताको अवार्ड समेत हात पारेका थिए ।

सुआरेजले बार्सिलोनाका लागि २८३ खेलमा १९८ गोल गरेका छन् । जसमा उनले १०९ असिस्ट पनि गरेका छन् । उनी लिओनल मेसी र सेजार पछिको स्थानमा छन् । बार्सिलोना र एट्लेटिको दुबै क्लबले सुआरेजको ट्रान्सफरबारे सहमति भएको विज्ञप्तीमार्फत जनाएका छन् । बार्सिलोनाले सुआरेजलाई बिहीबार बिदाई गर्दैछ ।

एट्लेटिकोले सुआरेजलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको तर सुआरेजका लागि एट्लेटिकोले विभिन्न तरिकाले ६ मिलियन युरो तिर्ने स्पेनिस अनलाइन मार्काले जनाएको छ ।

क्याम्प नोउ क्लबमा अझै एक वर्ष सम्झौता बाँकी रहेपनि सुआरेज र बार्सिलोनाले सम्झौता रद्द गर्ने सहमति गरेका थिए । मार्काका अनुसार सुआरेजले एट्लेटिकोमा दुई वर्षको सम्झौता गर्नेछन् । सुआरेजले एट्लेटिकोमा कर कटाएर प्रत्येक वर्ष ९ मिलियन युरो कमाउने छन् ।

बार्सिलोना छाडेर सुआरेज युभेन्ट्स जाने चर्चा भएपनि युभेन्ट्सले एट्लेटिको मड्रिडका अल्भारो मोरोटालाई लोनमा अनुबन्ध गरेपछि सुआरेज एट्लेटिको जाने बाटो खुलेको थियो ।

सुआरेज यस सिजन बार्सिलोना छाड्ने चौथो खेलाडी हुन् । नयाँ प्रशिक्षक रोनाल्ड कोएमन आएपछि मिडफिल्डरद्वय इभान राकिटिक र अर्टुरो भिडाल तथा डिफेण्डर नेल्सन सेमेडोले बार्सिलोना छाडिसकेका छन् ।

प्रतिक्रिया