हिलोले अस्तव्यस्त चाबहिल–मित्रपार्क सडक, कहिले हुन्छ निर्माण पुरा ?

काठमाडौं । लकडाउनमा धेरै ठाउँका सडकहरु चिल्ला बनाइए । कति ठाउँमा पिच गरियो । मर्मत गरियाे । सामाजिक सञ्जालमा ती सडकका तस्वीरहरू भाइरल बने । भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ एकाएक चर्चामा आए ।

सामाजिक सञ्जालमा नयाँनवेली मन्त्रीकाे तारिफ भइरहँदा चावहिल–चुच्चेपाटी–मित्रपार्क सडकखण्ड हविगतबारे भने कसैले सम्झना गरेनन् । न त्यहाँका सर्वसाधारणले आवाज उठाए न त मन्त्री नेम्वाङकै नजर पुग्याे । त्यसैले जस्ताको तस्तै छ, चावहिल–चुच्चेपाटी–मित्रपार्क सडकखण्ड ।

झण्डैं वर्षदिन अघि पिच गरेर चिटिक्क बनाइए पनि पुनः भत्किएपछि पैदल हिँड्नका लागि सास्ती त छ नै, सवारीमा हुइँकनेहरूले पनि जाम खेप्नुपर्ने बाध्यता छ । पाँच मिनेटमा पुगिने गन्तव्यमा पुग्न २० मिनेट लाग्छ !

त्यसमाथि भत्किएका/भत्काइएका सडकका एउटा आफ्नै छुट्टै विशेषता हुन्छन्-  ‘हिउँदमा धुलाम्मे, वर्खामा हिलाम्मे ।’

हाे, ठ्याक्कै यस्तै छ, चावहिल सडककाे अवस्था । ०७७ काे सुरूवातीदेखि नै वर्षातकाे माैसम चलिरहँदा हिलाेका कारण उक्त सडक पार गर्न नागरिकलाई समस्या परेकाे छ । लकडाउनका कारण लामाे समय बन्द रहेका हाेटल, फेन्सीलाई पनि हिलाे र धुलाेले असर पारेकाे छ ।

खानेपानी आयोजनाका कारण पनि निर्माण सम्पन्न भएका सडकहरू पनि ठाउँठाउँमा भत्काउने क्रम जारी नै छ । चाबहिल–गौशाला सडकमा खानेपानीको पाइप सडकको बीचमा रहेकाले पानी फुटेर हिउँद वा वर्षा सधैँभरि समस्या हुने गरेको छ ।

कहिले हुन्छ निर्माण पुरा ? 

काठमाडाैंका विभिन्न सडकमा अहिले विद्युत् प्राधिकरणले ‘केबुल अन्डरग्राउन्ड’ काे काम गरिरहेका छ, जसकारण निर्माण सम्पन्न गर्न समय लागेकाे सडक विभागका प्रवक्ता शिवहरी सापकाेटा बताउँछन् । केबुल अन्डरग्राउण्ड सम्पन्न भएपछि पुनः सडक निर्माण सुरु हुने उनकाे भनाइ छ ।

प्रवक्ता सापकाेटाले मकालु खबरसँग भने,  ‘जमिनमुनि रहेकाे खानेपानी पाइप फुटेर सडक अस्तव्यस्त बनेकाे हाे । त्यसमाथि वर्खायाम अझै सकिएकाे छैन । पानी पर्न राेकिएपछि निर्माण सुरू हुन्छ । तीन महिनाभित्र निर्माण सकिन्छ हाेला !’

प्रतिक्रिया