पाल्पाको फोक्सिङकोटमा पहिरोले घर पुरिँदा ६ जना बेपत्ता

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोटमा पहिरोले घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि खसेको पहिरोले बिहान तीन घर पुरिँदा ६ जना बेपत्ता भएका हुन् ।

करिब ४ बजेतिर आएको पहिरोले गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको हो । पहिराले हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष उमानसिह सारूले बताए ।

उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । सोही वडाको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक महिलासमेत बेपत्ता भएकी छिन् ।

अहिले स्थानीयले उद्दार गरिरहेका छन् । घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको हो ।

प्रतिक्रिया