सरकारबाट किट उपलब्ध नभएपछि वीपी प्रतिष्ठानद्वारा पिसिआर परीक्षणको शुल्क लिने निर्णय

सुनसरी । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब कोरोना पिसिआर गर्न न्युनतम शुल्क लिने भएको छ । अब प्रतिष्ठानमा कोरोना टेस्ट गरेको न्यूनतम २ हजार रुपैया शुल्क लाग्ने भएको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरिशंकर शाहका अनुसार प्रदेश र संघीय सरकारबाट पिसिआर गर्न उपलब्ध गराउदै आएको किट, रिएजेन्टका आवश्यक सामग्रीहरु उपलब्ध हुन नसकेकोले निःशुल्क पिसिआर गर्न नसकिने भएको हो ।
वीपी प्रतिष्ठान आफैंले किट खरिद गरेर पिसिआर टेस्ट गर्नुपर्ने भएपनि शुल्क लिनुपर्ने अवस्था आएको भनिएको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले सुचना जारी गर्दै प्रतिष्ठानको कोभिड अस्पताल, आइसोलेसन र प्रतिष्ठानकै अन्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई पिसिआर टेस्ट आवश्यक भएमा मात्र चिकित्सकको सिफारिसमा निःशुल्क पिसिआर टेष्ट गरिने जनाएका छन् ।
चिकित्सकले सिफारिस गरेका बाहेक प्रतिष्ठानकै अन्य चिकित्सक र कर्मचारीहरुले तथा बाहिरका व्यक्तिहरुले पनि पिसिआर टेस्ट गर्न चाहेमा सरकारले तोकेको न्युनतम शुल्क २ हजार भुक्तानी गर्नुपर्ने छ ।
प्रतिष्ठानले संघीय तथा प्रदेश सरकारबाट निःशुल्क पिसिआर किट, रिएजेन्टलगायत सामग्रीहरु उपलब्ध नभएसम्म स्थानीय सरकार, संघसंस्थाबाट समुहगतरुपमा प्राप्त हुने स्वाबको पनि २ हजार रुपैंया शुल्क लिएर मात्र परीक्षण गर्ने जनाएको छ ।










