दुर्घटनामा परेका क्रिकेटर भण्डारीलाई आर्थिक सहयोग

काठमाडौं । सडक दुर्घटनामा परि घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीलाई चितवन टाइगर्सलगायतका संस्थाले आर्थिक सहयोग गरेका छन् । तीब्र गतिका बलर ललितले २०१७ र २०१८ को एभरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सबाट खेलेका थिए ।
उपचारका लागि चितवन टाइगर्सले लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालसँग मिलेर १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसा प्रदान गरेको हो । चितवन टाइगर्सका मालिक एवम् लायन्स कर्पोरेट नेपालका संस्थापक अध्यक्ष किशोर भट्टराई, अध्यक्ष शुशील विष्टले बुधबार ग्रान्डी अस्पतालमा पुगेर ललितकी श्रीमति ममतालाई चेक प्रदान गरेका थिए ।
सो अवसरमा चितवन टाइगर्सका मार्की एवम् राष्ट्रिय खेलाडी सोमपाल कामी र राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास, लायन्स क्लबका कोषाध्यक्ष रमेश रुपाखेती उपस्थित रहेका थिए ।
अघिल्लो आइतबार साँझ उनी गृहनगर कञ्चनपुरमा सवारी दुर्घटनामा परेका थिए । उनी सवार मोटरसाइकल र विपरित दिशाबाट आएको ट्रकमा ठोक्किएपछि गम्भिर भएका उनलाई धनगढी, बाँकेको कोहलपुर हुदैं हेलिकप्टरबाट सोमबार काठमाडौं ल्याइएको थियो ।








