यी १५ अस्पतालबाट अब निःशुल्क इमरजेन्सी सेवा पाइन्छ

काठमाडौं । विपन्न तथा गरिब नागरिकलाई निःशुल्क स्वास्थ्योपचारको सुविधा पुर्याउन सरकारले देशका १५ वटा सरकारी अस्पतालहरुमा इमरजेन्सी सेवा निःशुल्क गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका १५ वटा सरकारी अस्पतालमा गरिब तथा विपन्न वर्गलाई इमरजेन्सी सेवा निःशुल्क गरेको हो ।

स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर निःशुल्क सेवा प्रारम्भ गरेको छ । मन्त्रालयका अनुसार पहिलो चरणमा राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पतालबाट निःशुल्क इमरजेन्सी स्वास्थ्य सेवा प्राप्त गर्न सकिने छ ।

सरकारले यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत निःशुल्क आकस्मिक स्वास्थ्य सेवालाई समेटेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस संयोजक माधव तिवारीले गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको इमरजेन्सी स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन थालिएको बताए ।

तिवारीका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, कान्ति बाल अस्पतालबाट गरिब तथा विपन्न नागरिकलाई निःशुल्क इमरजेन्सी सेवा प्रदान गरीनेछ ।

यसैगरी राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कोसी अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र महाकाली प्रादेशिक अस्पतालमा पनि यो सुविधा रहने भनिएको छ ।

प्रतिक्रिया