नेपाल-चीन सीमा क्षेत्रमा कुनै समस्या छैन : सरकार

काठमाडौं । सरकारले नेपाल–चीनबीचको सीमा क्षेत्रमा कुनै समस्या नरहेको बताएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल-चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको बताएका हुन् ।
हुम्लाकाे लिमीमा देखिएको समस्या २०७३ सालमा गठन भएको अन्तर मन्त्रालय छानबिन समितिले नै प्रष्ट पारिसकेको र त्यतिबेला नै यो विषय किनारा लागेको प्रवक्ता ज्ञवालीले बताए । उनले त्यतिबेला गठन भएको छानबिन समितिले लिमीमा चीनले बनाएका भवन नेपाल–चीन सीमा क्षेत्रभन्दा एक किलोमिटर पर नै रहेको प्रतिवेदन बुझाएको र अहिले पनि त्यहीँ भवन बनाइएको स्पष्ट पारे ।
अहिले जिल्ला प्रशासन कार्यालय हुम्लाबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थलगत अध्ययन टोली गएको र त्यसको रिपोर्ट बुझाउन बाँकी रहेको प्रवक्ताको भनाइ छ । त्यो प्रतिवेदन आइसकेपछि मात्रै थप भन्न सकिने उनले जानकारी गराए ।









