विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले विभिन्न अपराध कर्मगरी मुद्दा दायर भएर फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । आपराधिक लाभ, बम बिस्फोट तथा संगठित मुद्दाका फरार प्रतिवादी परवानीपुर गाउँपालिका १ घर भएका ३६ वर्षीय कपिलदेव महतोलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

परवानीपुर गाँउपालिका ४ स्थित एमएस इँटा उद्योगका सञ्चालकले फिरौती रकम दिन अस्वीकार गरेपछि २०७६ कात्तिक ४ गते इँटा उद्योगमा बम विष्फोट गरी फिरौती रकम नदिए घरपरिवारलाई खतरा हुनेछ भनी मोबाइल एसएमएस र फोनबाट धम्की दिई फरार रहेका महतोलाई इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत बारा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसैगरी महोत्तरीबाट संगठित अपराध, हातहतियार खरखजना तथा डाँका उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । गौशाला नगरपालिका ६ बस्ने मुन्ना, छाड्का बण्डा भन्ने ३० वर्षीय सतेन्द्र कुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले गौशाला नगरपालिका ५ स्थित मराहा खोलाको किनारमा क्रिकेट खेलिरहेको अवस्थामा फेला पारी निजलाई पक्राउ गरेको हो ।

२०७५ पुस २३ गते मनरा शिसवा नगरपालिका २ भोलही चौकस्थित एक घरमा हतियारधारी डाँकाहरुको समूहले गोली फायर गरी बम बिष्फोटन समेत गराई १६ लाख रुपैयाँ बराबरको धनमाल डाँका गरेको घटनामा यादव संलग्न रही फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यसैगरी २०७६ मंसिर २३ गते बालवा नगरपालिका ३ परौलस्थानस्थित जयबाबा कारिक मनि ट्रान्सफरमा लुटपाट गर्ने हातहतियार सहित जाँदै गरेको अवस्थामा औरही नगरपालिका ३ श्रीपुरस्थित जंघा खोलाको बगरमा १ थान घरेलु नलकटुवा पेस्तोल, ४ राउण्ड गोली लोड भएको अटोमेटिक पेस्तोल १ थान सहित गौशाला नगरपालिका ६ फुल्काहा बस्ने राकेश कुमार यादव पक्राउ परेको छन् ।

साथै सर्लाही, ईश्वरपुर नगरपालिका १३ स्थित बाँके संग्रामपुर खण्डमा ना.५५ प ०५९३ नम्बरको मोटसाइकलमा आएका एक व्यक्तिलाई पेस्तोल देखाई कुटपिट गरी नगद ९ लाख ९० हजार रुपैयाँ डाँका भएको घटनामा समेत संलग्न रही सतेन्द्र फरार रहेको खुल्न आएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया